
अस्पताल व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको आरोप
कार्यकारी निर्देशकको राजीनामा माग गर्दै निजामती अस्पतालका कर्मचारी आन्दोलित बनेका छन् । अस्पतालमा क्रियाशील आधिकारिक ट्रेड युनियनको अगुवाइमा आन्दोलन भएको हो ।
अस्पतालले केही दिनअघि विभिन्न पदका लागि तीन सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल व्यवस्थापन पक्ष र कर्मचारीबीच विवाद उत्पन्न भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीले अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको राजीनामा मागेका हुन् ।
अस्पताल व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीको आरोप छ । ट्रेड युनियन अध्यक्ष सन्तोष धिमालले वषौँदेखि कार्यरत कर्मचारीको हित र मर्मविपरीत व्यवस्थापन एकलौटी लागेको भन्दै उनीहरूले आन्दोलनमा जान बाध्य भएको बताए ।
बिहीबारबाट अस्पतालमा दैनिक १५ मिनेट धर्ना दिने कार्यक्रम रहेको ट्रेड युनियनका सचिव विनोद पोखरेल जानकारी दिए । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने, तर अस्पतालको नियमित सेवा भने खुला नै रहने उनको भनाइ छ । कर्मचारीले विरोधस्वरूप अस्पतालको गेटमा कालो ब्यानरमा आफ्ना माग लेखेर टाँसेका छन् ।