मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत २ बिहीबार ०६:२२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सात वर्षमा हराए ४३ हजार बालबालिका

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत २ बिहीबार ०६:२२:००

देशभर दैनिक १९ देखि २१ बालबालिका हराउँछन्, अधिकांश १० देखि १२ वर्ष उमेर समूहका

बालबालिका हराउने र नभेटिने तथ्यांक डरलाग्दो छ, जसमा बालिका धेरै छन् । पछिल्ला सात वर्षमा देशभर ६५ हजार पाँच सय ५४ बालबालिका हराएका छन्, जसमध्ये ४२ हजार आठ सय ९२ अझै नभेटिएको प्रहरीको तथ्यांक छ । 

प्रत्येक वर्ष बालबालिका हराउने दर बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा पाँच हजार नौ सय ५७ बालबालिका हराएका थिए भने ०७८/७९ मा यो संख्या १४ हजार नौ सय ५७ पुग्यो । ०७२/७३ मा हराएकामध्ये एक हजार चार सय ४० बालबालिका मात्रै फेला परे । त्यस्तै, ०७८/७९ मा ६ हजार ६ सय ५० बालबालिका फेला परेको र आठ हजार तीन सय सात अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ । 

त्यस्तै, ०७७/७८ मा १० हजार ३१ बालबालिका हराएका थिए । त्यसमध्ये चार हजार ६ सय ६८ फेला परेको  र पाँच हजार तीन सय ६३ अझै बेपत्ता छन् ।  ०७६/७७ मा सात हजार नौ सय एक बालबालिका हराएकोमा तीन हजार एक सय ६५ फेला परेको र चार हजार सात सय ३६ प्रहरीको बेपत्ता सूचीमै छन् । ०७५/७६ मा ११ हजार एक सय ५३ बालबालिका हराएका थिए । उनीहरूमध्ये तीन हजार तीन सय सात फेला परे भने सात हजार आठ सय ४६ अझै भेटिएका छैनन् । ०७४/७५ मा आठ हजार दुई सय ७७ बालबालिका हराएकोमा एक हजार आठ सय १९ मात्रै फेला परे, ६ हजार चार सय ५८ बेपत्ता नै छन् । त्यस्तै, ०७३/७४ मा देशभर सात हजार दुई सय ७८ बालबालिका हराए । तीमध्ये एक हजार ६ सय १३ फेला परेको र बाँकी पाँच हजार  ६ सय ६५ अझै नभेटिएको प्रहरीको तथ्यांक छ । 

कोसी प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउने गरेका छन् । चालू आर्थिक वर्षको साउनयता मात्रै एक हजार सात सय चार बालबालिका हराएका छन् । उनीहरूमध्ये करिब ७० प्रतिशत बालिका छन् । यही अवधिमा मधेसमा एक हजार ६ सय ८० जना हराएकामा पाँच सय ७४ मात्रै फेला परेका छन् । गण्डकीमा एक हजार ६२ हराएको र सात सय २५ भेटिएको तथा लुम्बिनीमा एक हजार दुई सय ६५ बेपत्ता भएकोमा ६ सय २७ लाई मात्रै प्रहरीले भेट्टाएको छ । त्यस्तै, कर्णालीमा तीन सय ७६ बालबालिका हराउँदा दुई सय र सुदूरपश्चिममा ६ सय दुईजना हराएकामा चार सय २२ बालबालिका फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, उपत्यकाबाहेक बागमती प्रदेशका अन्य जिल्लामा ६ सय ६८ बालबालिका हराएका छन् । उनीहरूमध्ये पाँच सय ८० भेटिएका छन् ।

साउनयता मात्रै उपत्यकामा एक हजार चार सय २३ बालबालिका हराएकोमा नौ सय २८ फेला परेका छन् । अन्य बालबालिका बेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले पछिल्लो समय उपत्यकामा बालबालिका हराउने घटना बढेको बताए । ‘धेरैजसो बालबालिकाले पारिवारिक रूपमा हुने कलह र बेमेलका कारण घर छाड्ने गरेका छन्, कतिपय आफूले माग गरेको कुरा नपु¥याएको बहानामा पनि भाग्ने गरेका छन्,’ श्रेष्ठले भने । उनका अनुसार हराउनेमध्ये सबैभन्दा धेरै १०–१२ वर्ष उमेर समूहका छन् । प्रहरी तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक नौदेखि ११ बालबालिका हराउँछन् । उनीहरूमध्ये ६५ देखि ७० प्रतिशत बालिका छन् ।

हराएकामध्ये कतिपय बालबालिका परिवारको सम्पर्कमा आइसकेको प्रहरीको अनुमान छ । त्यसलाई पुष्टि गर्न प्रहरीले आफन्तलाई सम्पर्कसमेत गर्न थालेको छ । सम्पर्कमा आएपनि कतिपय अभिभावकले त्यसबारे प्रहरीमा खबर गर्ने गरेका छैनन् । 

प्रहरी र परिषद्मा फरक–फरक तथ्यांक 
राष्ट्रिय बाल अधिकार परिषद् बालबालिका खोजतलास शाखाका अनुसार देशभर दैनिक १४–१६ जनासम्म बालबालिका हराउँछन् । यसले मासिक हराउने बालबालिको संख्या चार सय देखाउँछ । तर, बालबालिका हराएको तथ्यांक परिषद् र प्रहरीमा फरक–फरक छ । 

प्रहरीका अनुसार उपत्यकामा मात्रै दैनिक नौदेखि ११ बालबालिका हराउँछन् भने देशभर १९ देखि २१ जना हराउँछन् । अभिभावक तथा आफन्तहरूले बालबालिका हराएपछि नजिकको प्रहरी कार्यालय तथा परिषद्मा उजुरी दिन्छन् । यस आधारमा उपत्यकामा दैनिक हराउने बालबालिकाको संख्या सरदर नौदेखि ११ छ । त्यस्तै, कतिपयले बालबालिका हराएपछि परिषद्को निःशुल्क हटलाइन नम्बर १०४ मा फोन गरेरसमेत निवेदन टिपाउने गरेका छन् । 

परिवारमा राम्रो व्यवहार नहुँदा घर छाड्नेको संख्या बढ्दै 
अधिकांश बालबालिका परिवारकै कारण हराउने गरेको प्रहरीको दाबी छ । परिवारमा राम्रो व्यवहार नगर्ने, बुबाआमा कलह गर्ने, बालबालिकाले माग गरेको पूरा नगरिदिने, रिसाउने, कुट्नेजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको अध्ययनमा देखिएको प्रहरी बताउँछ । कतिपय बालबालिका सानै उमेरमा प्रेममा परी विवाह गरेरसमेत भाग्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । 

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार हराउनुको मुख्य कारण परिवार तथा अभिभावक नै हुन् । ‘बालबालिका र अभिभावकबीच पर्याप्त कुराकानी नहुने, उनीहरूको भावना नबुझ्नेजस्ता कारणले पनि बालबालिका हराउँछन्,’ उनले भने, ‘हराउनेमध्ये ६५–७० प्रतिशत बालिका छन् । त्यसमध्ये पनि १४–१७ उमेर समूहका बढी छन् ।’ उनका अनुसार बालिकाहरूलाई कसैले बाटोमा प्रलोभनमा पार्ने, यौनशोषण, प्रेममा परेर भागेर हिँड्ने, साथीकहाँ जानेलगायत कारण हराउने धेरै छन् । तराई क्षेत्रमा बालबालिका अपहरण गरेर फिरौती माग्ने घटना भइरहेको पनि उनको भनाइ छ । उनले यसबारे अभिभावक सचेत हुनुपर्ने बताए । पाँचवर्षे तथ्यांक संकलन गरेर बालबालिका किन बढी हराउँछन् भन्ने कारण खोज्ने तयारी भइरहेको उनले बताए । 

बालबालिका भेटेपछि परिवारले खबर नगर्दा प्रहरीलाई सास्ती 
बालबालिका हराएपछि अभिभावक तथा आफन्त तुरुन्तै प्रहरी तथा परिषद्मा निवेदन दिन पुग्छन् । तर, बालबालिका सम्पर्कमा आइसकेपछि भने कतिपयले प्रहरीलाई जानकारी नै गराउँदैनन् । यस्ता बालबालिकालाई प्रहरीले बेपत्ताकै  सूचीमा राख्ने गरेको छ । हराएका बालबालिका भेटिएपछि प्रहरीलाई जानकारी नगराउने प्रवृत्तिका कारण पनि प्रहरीको तथ्यांकमा नभेटिने बालबालिकाको संख्या ठूलो रहेको परिसरका प्रवक्ता सीताराम रिजालले बताए । उनका अनुसार प्रहरी सबै अभिभावक र आफन्तको सम्पर्कमा पुग्न सक्दैन, कतिपयले नभेटिएसम्म प्रहरीकहाँ ताकेता गरे पनि भेटिएपछि भने खबर गर्दैनन् । ‘बालबालिका तथा अन्य उमेर समूहका मानिस हराउना साथ प्रहरीमा रिपोर्ट गर्नेको संख्या धेरै हुन्छ, तर आफैँले भेट्टाएपछि प्रहरीलाई उहाँहरू खबर गर्नुहुन्न,’ उनले भने, ‘त्यसकारण पनि प्रहरीको तथ्यांकमा नभेटिनेको संख्या बढी देखिन्छ ।’

पारिवारिक हिंसाले घर छोडेका बालबालिका वयस्क मनोरञ्जन क्षेत्रमा बालश्रमिक 

पारिवारिक हिंसाका कारण घर छाडेका बालबालिका काठमाडौंका वयस्क मनोरञ्जन क्षेत्रमा बालमजदुर बन्न बाध्य हुने गरेको एक अध्ययनले देखाएको छ । चिल्ड्रेन लेबर एक्सन रिसर्च इनोभेसन इन साउथ एन्ड साउथ इस्टर्न एसिया (क्लारिसा)ले गरेको अध्ययनले यस्तो देखाएको हो । 

क्लारिसाले मजदुरीको कारण पत्ता लगाउन अगस्ट ०२० देखि मे ०२१ सम्म काठमाडौंका चार सय बालमजदुरको जीवनगाथा अध्ययन गरेको थियो । अध्ययनमा आठदेखि २५ वर्ष उमेर समूहका मजदुरलाई सहभागी गराइएको थियो । सहभागीमध्ये सबैभन्दा धेरैले पारिवारिक हिंसा सहन नसकेपछि काठमाडौं आएको र होटेल, रेस्टुरेन्ट तथा दोहोरी साँझमा मजदुरी गर्न सुरु गरेको बताएका थिए । ठमेल, गोंगबु, कलंकी, कोटेश्वर, सुन्धारा, दरबारमार्ग, मनोहरा, नयाँबजार, बालाजुस्थित रेस्टुरेन्ट, डान्सबार, स्पा, मसाज, दोहोरी साँझ, डिस्को, खाजाघर, गेस्टहाउसलगायतका वयस्क मनोरञ्जन क्षेत्रमा अध्ययन गरिएको थियो । 

परिवारको कमजोर आर्थिक अवस्था, अभिभावकको बहुविवाह, सम्बन्धविच्छेद, मादकपदार्थ सेवनमा लिप्त अभिभावकका कारण पनि बालबालिकाले परिवार छोड्ने र त्यसपछि काठमाडौंका डान्सबार तथा दोहोरी साँझमा बालमजदुर बन्न बाध्य हुने अध्ययनले देखाएको छ । गलत संगत र साथीभाइको लहैलहैमा लागेरसमेत बालबालिका काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा बालमजदुर बन्न बाध्य भएको अध्ययनको निष्कर्ष छ । 

क्लारिसा नेपालका राष्ट्रिय संयोजक सुधीर मल्लका अनुसार पारिवारिक हिंसा र अभिभावकको बेवास्ता नै बालबालिका काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा बालमजदुर बन्ने मुख्य कारण देखिएको छ । उनले भने, ‘क्लारिसाले करिब नौ महिना लगाएर काठमाडौंका होटेल तथा रेस्टुरेन्टमा काम गर्ने चार सय बालमजदुरमाथि अध्ययन ग¥यो । यसक्रममा केही नयाँ तथ्य फेला परेका छन् । जसले वयस्क मनोरञ्जन क्षेत्रमा हुने निकृष्ट प्रकारका बालश्रमसम्म बालबालिका किन र कसरी आइपुग्छन् भन्ने उजागर गर्छ । जसमा परिवारको कमजोर आर्थिक अवस्था र पारिवारिक हिंसा मुख्य कारण देखिएको छ । त्यसबाहेक आमाबाबु रक्सीको लतमा पर्नु, सम्बन्धविच्छेद पनि यसका कारण हुन् ।’

वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने मजदुरप्रति समाजको दृष्टिकोण सकारात्मक नभएकाले पीडा अझै सतहमा नआएको क्लारिसा नेपालकै अर्का अनुसन्धानकर्ता रञ्जना शर्माको भनाइ छ । उनले भनिन्, ‘वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकालाई समाजले नराम्रो तवरले हेर्छ । त्यसैले उनीहरूको जीवनका भोगाइहरू समाजमा बाहिर आउन पाएका हुँदैनन् । हाम्रो अध्ययनको उद्देश्य दबिएर रहेका त्यस्ता समस्या बाहिर ल्याउनु हो ।’

अध्ययनमा संलग्न क्लारिसाकै अर्का अनुसन्धानकर्मी सम्झना भुजेलले वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत बालमजदुर रोजगारदाता र ग्राहक दुवैबाट दुव्र्यवहारमा पर्ने गरेको अध्ययनले देखाएको बताइन् । उनले भनिन्, ‘वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत बालश्रमिक रोजगारदाता र ग्राहक दुवैबाट दुव्र्यवहार र शोषणमा पर्ने अध्यनले उजागार गरेको छ । उनीहरू चिनेजानेकै व्यक्ति, नातेदार वा छिमेकीबाट वयस्क मनोरञ्जन क्षेत्रमा बाल श्रमिकका रूपमा प्रवेश गर्ने गरेको अध्ययनको निष्कर्ष छ ।’