
चितुवाको आक्रमणबाट पोखरामा दुईजना घाइते भएका छन्।
पोखरा– १८ भकुण्डेस्थित ध्रुव थापालगायत सातजनाले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार चितुवा पसेको र सोही चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने दुईजना घाइते भएका हुन्।
घाइते हुनेहरूमा कास्की–रूपा गाउँपालिका– ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठलुरी र वर्ष ३२ का राजेश तिमिल्सिना छन्। घाइतेको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।
सामान्य घाइते रहेका उनीहरूको गाला र दाहिने आँखामा सामान्य कोतरिएको छ। फर्मका दुईवटा कालिजसमेत मरेका छन्।
स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले चितुवा नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेकाे र वन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामका प्रमुख वेद जोशीले जानकारी दिए।