१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार o८:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीमा सीमा सुरक्षा र विपत् सम्बन्धी पढाइ सुरु हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार o८:२८:oo

सीमा सुरक्षा र विपत् व्यवस्थापनको मुख्य जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले अधिकृत तहका कर्मचारीलाई यससम्बन्धी तालिम अनिवार्य गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा यससम्बन्धी पढाइ तथा तालिम सुरु हुन लागेको हो । 

पोस्ट ग्र्याजुएट डिप्लोमा तहको सुरक्षा तथा विपत् व्यवस्थापन कोर्स आगामी भदौबाट सुरु गर्न लागिएको छ । सीमा सुरक्षा र विपत् व्यवस्थापन केन्द्रित आठ महिना लामो कोर्सको प्रमुख उद्देश्य कर्मचारीको दक्षता अभिवृद्धि गर्ने रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी पुरुषोत्तम थापाले बताए ।

हाल इन्स्पेक्टरका लागि अनिवार्य गरिएको तीनमहिने कम्पनी कमान्डर तथा स्टाफ कोर्सलाई समेत यसमै मर्ज गर्न लागिएको छ । सशस्त्र प्रहरी नियमावलीसमेत संशोधन गरी डिएसपी बढुवाका लागि यो कोर्स अनिवार्य गर्न लागिएको छ । कम्पनी कमान्ड तालिम गरिसकेका इन्स्पेक्टरको हकमा भने तालिम अनिवार्य गरिएको छैन । एक वर्षमा ३० जनालाई तालिममा समावेश गर्ने योजना सशस्त्र प्रहरीको छ ।

‘ऐनले दिएको कार्यादेशअनुसार सीमा सुरक्षा, आन्तरिक सुरक्षा तथा विपत् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न यो कोर्स सुरु गर्न लागिएको हो,’ सशस्त्र प्रहरीका प्रवक्ता थापाले भने, ‘मध्य तहका अधिकृतलाई लक्षित गरिएको यो कोर्स संगठनको सुदृढीकरणका लागि कोसेढुंगा साबित हुने विश्वास छ ।’ 

यसले स्टाफ कलेजको तयारीका लागि पनि सहयोग पुग्ने सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । सशस्त्र प्रहरीमा एसएसपीभन्दा माथि पुग्न स्टाफ कलेज अनिवार्य छ । स्टाफ कलेजको प्रवेश परीक्षामै धेरै अनुत्तीर्ण हुने भएकाले यस्ता तालिमले कर्मचारीलाई थप क्षमतावान बनाउने उद्देश्य राखिएको छ । 

देशको छान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षाको प्रमुख जिम्मेवारी दिएको छ । सीमा सुरक्षाका लागि भारतसँगको सीमातर्फ दुई सय २० तथा चीनसँगको सीमातर्फ आठवटा बोर्डर आउटर पोस्ट (बिओपी) स्थापना गरिएका छन् ।