नेपालको पर्यटकीय नगरी पोखरा। पोखराको पनि विदेशी पर्यटकको केन्द्र लेकसाइड। आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा निकै रमाए।
होली नेपाली परम्पराको रङको पर्व। एकआपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ। विभिन्न रङमा रंगिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि। विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए। निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले।
रेस्टरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले फागुपूर्णिमाका अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका पाँच सय बढी पर्यटकले एकअर्कामा होली रङ लगाएर रमाएका थिए।
होलीको रङसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताए। उनले भने, ‘यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए, मलाई यो समानता निकै मनपर्यो’।
अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए।
अन्नपूर्ण बेसक्याम्पमा जान आएका अर्का जर्मन नागरिक डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाए।
त्यसैगरी, तीन हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताइन्।
लमजुङको बेँसीसहरको एक स्कुलमा स्वयंसेवीका रूपमा काम गर्दै आएकी उनी पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताइन्।
इलामको चियाबारेमा अध्ययनका लागि नेपाल आएकी होल्यान्डकी एल्काले पनि रंगीचंगी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिइन्। रासस