१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पाइलट भावना पन्त (दायाँ) र को–पाइलट सिर्जना रावत
नवीन अर्याल काठमाडाैं
२०७९ फाल्गुण २२ सोमबार ०६:४८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमै पहिलोपटक दुई महिला पाइलटको कमान्डमा अन्तर्राष्ट्रिय उडान

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ फाल्गुण २२ सोमबार ०६:४८:००
  •  पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले आइतबार काठमाडौंबाट न्यारोबडी एयरबस ३२० दुबई उडाए
  •  अन्तर्राष्ट्रिय महिला दिवसको दिन ८ मार्चमा सबै क्रु मेम्बर महिला नै राखेर उडान गर्ने निगमको तयारी

नेपाल वायुसेवा निगम (नेवानि)को इतिहासमै पहिलोपटक दुई महिला पाइलटले ककपिट सम्हालेर अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतले आइतबार काठमाडौंबाट न्यारोबडी एयरबस ३२० उडाएर दुबईमा सफल अवतरण गरेका हुन् ।

यही पाइलट जोडीले अर्को उडान दुबईबाट काठमाडौंका लागि पनि गर्दै छ । महिला चालक दलले अन्तर्राष्ट्रिय उडानको कमान्ड सम्हाल्नु नेपालका लागि ऐतिहासिक भएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले अन्तर्राष्ट्रिय महिला दिवसको दिन ८ मार्चमा सबै क्रु मेम्बर महिला नै राखेर उडान गर्ने तयारीसमेत गरेको छ ।

जहाजको कमान्ड सम्हालेर दुबई पुगेका महिला चालक दलका सदस्यलाई गैरआवासीय नेपाल संघले स्वागत गरेको छ । दुई महिला पाइलटलाई स्वागत गर्दै नेपाली जनसम्पर्क समिति, युएईका सभापति भुवनीप्रसाद तिमिल्सिनाले भने, ‘भविष्यमा नेपालका हरेक क्षेत्रमा महिला दिदीबहिनीहरूलाई उच्च ओहोदामा पुग्ने प्रेरणा र अवसर मिलोस् भन्दै शुभकामना दिन चाहन्छु, यहाँहरूको उज्ज्वल भविष्यको पनि कामना व्यक्त गर्छु ।’ राष्ट्रिय ध्वजावाहक नेवानिका महिला चालक दलका सदस्यलाई युएईमा स्वागत गर्न पाउँदा उत्साहित भएको उनको भनाइ छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा महिला पाइलटको नेतृत्व नौलो होइन । क्याप्टेन पन्त आफैँले पाइलट सिटमा बसेर अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेकी छिन् । अर्की वरिष्ठ पाइलट सोनी राणाले निगमको बोइङ ७५७, एयरबस ३२० र एयरबस ३३० जहाजको कमान्ड सम्हालेर धेरै उडान गरेकी छिन् । तर, को–पाइलट पनि महिला नै रहेको अन्तर्राष्ट्रिय उडान भने पहिलोपटक भएको निगमका प्रशिक्षक पाइलट (आइपी) दिपु जुवार्चनले बताए । ‘निगम र निजी एयरलाइन्सका आन्तरिक उडानमा यस्तो संयोग जुरिरहन्छ, तर अन्तर्राष्ट्रिय उडानमा दुवै पाइलट महिला परेको जानकारीमा थिएन,’ जुवार्चनले भने, ‘यसपटक काठमाडौं–दुबई उडानमा पाइलट र को–पाइलट दुवै महिला पर्ने संयोग जुर्‍यो ।’ 

१०४४ पाइलटमध्ये ८५ मात्रै महिला
नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान (जहाज र हेलिकोप्टर)मा महिला पाइलटको संख्या ८५ पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । नेपालमा हालसम्म अनुमति पाएका जहाज उडाउने ४०२ पाइलटमध्ये महिला पाइलट २७ छन् भने ५२८ को–पाइलटमध्ये ५४ महिला छन् । यस्तै, हेलिकोप्टर उडाउने ३३ पाइलटमध्ये एक महिला र ८१ को–पाइलटमध्ये तीन महिला छन् । जहाज उडाउन इजाजत पाएका पाइलट (महिला र पुरुष)मध्ये अहिले क्याप्टेनतर्फ १८४ र को–पाइलटतर्फ १५६ मात्र सक्रिय उडानमा सहभागी छन् । एक हजार ४४ पाइलटमा ८५ महिला भनेको ८ प्रतिशत हो ।