
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै माओवादी घटकहरू एक हुनुपर्ने बताएका छन्।
आइतबार माओवादी केन्द्र बनेपा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले परिवर्नत नचाहने शक्तिहरूले फेरि पश्चगमनतिर धकेल्ने खेल खेलिरहेको बताउँदै उनले यस्तो बताएका हुन्। ‘१०वर्षे जनयुद्ध, ०६२/६३ को दोस्रो जनआन्दोलनको बलबाट निर्माण भएको संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने जिम्मा माओवादी केन्द्रको काँधमा छ,’ महराले भने।
हालसम्म प्राप्त उपलब्धि रक्षाका लागि सबै माओवादीहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै उनले अब छिट्टै माओवादीका ९ घटकहरूबीच मोर्चा गठन हुने प्रस्ट्याए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङले सहिदहरूको त्याग, समर्पण र बलिदानीको वास्तविक सम्मानका लागि उनीहरूको परिवारको सम्मान गर्नुपर्ने बताए। घाइते, अपांगता र बेपत्ता परिवारको भावनालाई आत्मसाथ गर्दै पार्टी अगाडि बढ्ने उनको भनाइ छ।
कार्यक्रममा माओवादी केन्द्र बनेपा नगर कमिटीले सहिद, घाइते र बेपत्ता योद्धाहरूको परिवारलाई सम्मान गरेको थियो। माओवादी केन्द्रले फागुन १४ देखि २१ गतेलाई सहिद सप्ताहको रूपमा मनाउँदै विविध कार्यक्रम गर्दै आएको छ।