१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाले नेपालको स्वाधीनता र स्वाभिमान जोखिममा : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १५:५५:००

एमाले अध्यक्ष केपी ओलीले शक्तिराष्ट्रहरूको प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने मार्गमा जोखिम देखिएको बताएका छन् । सहिद स्मृति दिवसका सन्दर्भमा आइतबार वक्तव्य प्रकाशित गरेर अध्यक्ष ओलीले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढेको संकेत गर्दै जोखिम औँल्याएका हुन् ।

‘आज मुलुक असामान्य परिस्थितिबाट गुज्रिरहेको छ । विश्वको बदलिँदो शक्ति सन्तुलन, परिवर्तित भूराजनीति र दक्षिण एसियामा देखिन थालेका शक्ति राष्ट्रहरूका प्रतिस्पर्धाबाट राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्ने हाम्रो मार्ग जोखिमपूर्ण बन्दै गएको छ,’ ओलीले वक्तव्यमा भनेका छन्, ‘राजनीतिमा देखापरेको अस्थिरता, अवाञ्छित सत्तालिप्सा र आत्मसमर्पणवादले यस चुनौतीलाई अझ जटिल बनाएका छन् ।’

राजनीतिमा जवाफदेहिता, पारदर्शिता, विश्वसनीयता र मूल्यहरूको केही अर्थ छैन भन्नेजस्ता विकृतिहरूलाई संस्थागत गरिँदा जनतामा नैराश्य बढिरहेको भन्दै ओलीले वक्तव्यमा चिन्ता व्यक्त गरेका छन् । ‘सामाजिक सदभाव, सौहार्दता र मौलिक मूल्यहरूको विघटन तीव्र बन्दै गएको छ । यो नैराश्यबाट लाभ लिन एकातिर पश्चगामी शक्तिहरू सलबलाइरहेका देखिन्छन् भने अर्कातिर समाजलाई अराजकतातिर धकेल्ने प्रयास पनि तीव्र बन्दै गएको छ,’ वक्तव्यमा भनिएको छ ।

यी सबै चुनौती सामना गर्न एमालेको नेतृत्वबीच बलियो राष्ट्रिय शक्ति आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।

एमालेले २१ फागुन ०२८ मा तत्कालीन पञ्चायती सरकारले झापाको सुखानीमा हत्या गरेका आफ्ना पाँच नेताको स्मृतिमा हरेक वर्ष देशभर सहिद स्मृति दिवस मनाउँदै आएको छ । आजकै दिन झापा विद्रोहका अग्रजहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जंगलमा लगी हत्या गरिएको थियो ।