मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार ०९:३७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

किरणको टोली आइलिग च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार ०९:३७:००

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित पन्जाब एफसी आइलिग च्याम्पियन भएसँगै इन्डियन सुपर लिग (आइएसएल)मा बढुवा भएको छ 

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बू सम्मिलित पन्जाब एफसी आइलिग २०२२–२३ च्याम्पियन बनेको छ । शनिबार जयपुरमा राजस्थान युनाइटेड एफसीलाई ४–० ले हराउँदै पन्जाब च्याम्पियन हुँदै इन्डियन सुपर लिग (आइएसएल)मा बढुवा भएको हो । अल इन्डियन फुटबल एसोसिएसनले आइलिग च्याम्पियन टोली आइएसएल खेल्न छनोट हुने नयाँ नियम बनाएको छ । 

२१ खेल खेलेको पन्जाब १५ जितसहित ४९ अंक जोडेर शीर्ष स्थानमा छ । एक खेल कम खेलेको श्रीनिधि डकेन ४१ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल जिते पनि श्रीनिधिले पन्जाबलाई भेटाउनेछैन । पन्जाबको जितमा भुटानी स्ट्राइकर चेन्चो ग्लातसेनले खेलको १६औँ मिनेटमा अग्रता दिलाएका थिए । लुका माजसेनले ४१औँ मिनेटमा दोस्रो गोल गर्दा पहिलो हाफमै पन्जाबले २–० को अग्रता बनायो । ७६औँ मिनेटमा जुआन मेराले तेस्रो गोल गरे भने इन्जुरी समयमा राल्तेले चौथो गोल गरेका थिए । 

किरणलाई दोस्रो आइलिग उपाधि
किरण दोस्रोपटक आइलिग च्याम्पियन भएका हुन् । यसपटक एक खेल बाँकी रहँदा किरण सम्मिलित पन्जाबले ४३ गोल गरेर १६ गोल मात्रै व्यहोरेको छ । टोलीले हालसम्म चार खेल बराबरी खेल्दा दुई खेलमा मात्रै हार व्यहोरेको छ । यसअघि सन् २०१९–२० सिजन पन्जाब आइलिग च्याम्पियन भएको थियो । उक्त सिजन किरणले उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । सन् २०१८ मा टिसी स्पोर्टस् र २०२१–२२ को सिजन किरण सम्मिलित माजिया आरसी माल्दिभ्स धिबेही प्रिमियर लिग च्याम्पियन भएको थियो । किरणले घरेलु लिगमा भने थ्री स्टारलाई उपाधि जिताएका थिए । उनले मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबाट पनि खेलिसकेका छन् ।