मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १४:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्रका लागि तोकियो थप पाँच स्थान, कुन जिल्लावासीले कहाँबाट आवेदन दिने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार १४:२९:००

राष्ट्रिय परिचयपत्रको आवेदन र  वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौंमा थप पाँच स्थान तोकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको हो । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरका अलावा नारायणहिटी दरबारपरिसर, राष्ट्रिय सभागृह, विभागकै परिसरमा आवेदन दिन सकिनेछ ।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेकका सबै जिल्ला तथा मधेस प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय ललितपुरमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सप्तरी, सर्लाहीका जिल्लाका सेवाग्राहीले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नारायणहिटी दरबार परिसरमा कोसी, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा र रौतटहका सेवाग्राहीले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पण्डितले जानकारी दिए । यस्तै विभागपरिसरमा नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्वकर्मचारी तथा विशिष्ट पदाधिकारीले आवेदन दिन सक्नेछन् । 

त्यस्तै, राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा राष्ट्रसेवक कर्मचारीका परिवारले आवेदन दिन सक्नेछन् । हाल देशैभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालय र ४२ वटा इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिन सकिन्छ । परिचयपत्रको विवरण प्रविष्ट गर्नका लागि नागरिकताको प्रमाणपत्र, बसाइँसराइ गरी आएकाको हकमा बसाइँसराइको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल र कर्मचारी भए कार्यालयको सिफारिस र पूर्वकर्मचारी भए पेन्सनपट्टा आवश्यक पर्नेछ ।

राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरणको कामलाई प्रभावकारी बनाउन र गति दिन प्रधानमन्त्रीको निर्देशनपछि विभागले तदारुकता देखाएको हो । गृह मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका छन् । रासस