१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १o:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन हुन्छ अनियमित महिनावारी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:४४:oo

सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । प्रायः महिनावारी चक्र २८ दिनको फरकमा हुन्छ । कहिलेकाहीँ एक हप्ता पर पनि जान सक्छ । तर, कहिलेकाहीँ स्वास्थ्य समस्या तथा हर्मोनमा आउने परिवर्तनले यो चक्रमा अनियमितता पनि हुने गर्दछ । २१ दिनभन्दा अघि र ३५ दिनभन्दा ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुनेजस्ता समस्या हुन्छ । यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ । 

किन हुन्छ ?
शरीरमा हुने विभिन्न ग्रन्थिबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी सुरु हुन्छ । थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपना, तनाव, एकैपटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ । त्यसैगरी, अस्वस्थकर जीवनशैलीले गर्दा पनि महिनावारी अनियमित हुन्छ । जंकफुड बढी खाँदा शरीरमा तौल बढ्ने हुँदा महिनावारी अनियमित हुने गर्दछ ।

यस्ता जटिलता देखिन सक्छ : अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ । धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ । कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ । यस्ता समस्यालाई बेवास्ता गरिरहेमा क्यान्सरसमेत हुन सक्ने सम्भावना हुन्छ ।

समाधान : सबैभन्दा पहिला त महिलाले स्वस्थकर जीवनशैली अपनाउनुपर्दछ । पोषिलो खानेकुरा खाने, पानी प्रशस्त पिउने, शरीरको तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने, धेरै तनाव नलिने, चिकित्सकको सल्लाहविना जथाभावी औषधिको प्रयोग नगर्ने र केही समस्या देखिएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिई औषधि उपचार गर्ने । 

के खाने, के नखाने ?

भिटामिन सी : अनियमित महिनावारीबाट ग्रस्त महिलाले भिटामिन सीयुक्त फलफूल खानामा समावेश गर्नुपर्छ । यसमा मेवा, सुन्तला, कागती, किवीलगायत फल पर्छन् । मेवामा प्रशस्त मात्रामा केरोटिन पाइन्छ, यसले एस्ट्रोजन हर्मोन बढाउन सहयोग गर्छ । 

बेसार : बेसारका धेरै फाइदा छन् । यसले पाठेघरमा रक्तसञ्चार बढाउन सहयोग गर्छ । र, महिनावारीमा भएको गडबडीलाई ठीक गर्न सहयोग गर्छ । रातको समय सुत्नुअघि एक गिलास दूधमा बेसार मिसाएर खानु लाभदायी हुन्छ । 

सखर : सखरले पनि अनियमित महिनावारीको समस्या कम गर्न सहयोग गर्छ । अनियमित महिनावारी हुनेले सखर, तिल र बेसार मिसाएर खाने तथा त्यसपछि मनतातो पानी पिउने गर्नुपर्छ । 

अदुवा : अदुवाले महिनावारीमा देखिएको समस्यालाई कम गर्न सहयोग गर्छ । पहिले अदुवालाई स–साना टुक्रा पारेर काट्नुस् । यसमा मह मिसाएर खानुस् र त्यसपछि मनतातो पानी पिउनुस् । 

क्याल्सियमयुक्त खानेकुरा : दूधजन्य पदार्थ, बदाम, ओखर, माछा, तोफु, ब्रोकाउलीलगायत सेवन गर्नुस् । 

- जंकफुडबाट टाढा रहनुस् । नुन कम प्रयोग गर्नुस् । चिया–कफी कम पिउनुस् । हर्बल चिया खान सकिन्छ । मैदाबाट बनेका खानेकुरा सकभर नखानुस् । धूम्रपान र मदिरा सेवन नगर्नुस् । 

ad
ad