
चिट्ठामा पावरबैंक पर्छ भनी प्लास्टिकमा माटो भरेर बेच्ने दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ठगी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रेस लेखेको युपी ५५ एएफ १५१९ भारतीय नम्बर प्लेटको स्प्लेन्डर मोटरसाइकलमा आएका दुईजनाले रुपन्देहीको सैनामैना नगरपालिका– १० सालझण्डी झिमझिमेमा ठगी गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षका विवेककुमार भट्ट र २५ वर्षका सर्वेशकुमार भट्ट रहेका छन् ।
उनीहरूले नेपाली रुपैयाँ ५० को चिट्ठामा कपडा र एमआई कम्पनीको मोबाइलको ओरिजिनल पावरबैंक पर्ने भनी माटो भरेको प्लास्टिक कभर बेची ठगी गर्दै आएका थिए । उनीहरूले सबै कुपनमा ‘पावरबैंक’ पर्ने पहिले नै सेट गरेका प्रहरीले जनाएको छ । ‘पावरबैंक’ परेपछि उनीहरूले नेपाली रुपैयाँ तीन हजार दुई सय बजार मूल्य पर्ने भन्दै पुनः एक हजार दुई सय लिँदै आएका थिए ।
उनीहरूको साथबाट स्क्रयाच कुपन ७९ थान र एमआई २० हजार एमएच लेखेको प्लास्टिकको बट्टा ६ थान बरामद भएको र उक्त बट्टा खोली हेर्दा माटो भरेको र पुराना मोबाइलका ब्याट्री जोडेको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । उनीहरूलाई तत्काल पक्राउ गरी ठगीसम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिप्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।