मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : चमेलिया नदीमा फेला परेको मृतक जीवन बुडालको शव । फोटोः लोकेश साउद/नयाँ पत्रिका   
२०७९ फाल्गुण १५ सोमबार २१:०४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुसन्धान कर्मचारीको रहस्यमय मृत्यु : सँगै वनभोज गएका १२ जना नियन्त्रणमा

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार २१:०४:००

वनभोज खान गएका बेला चमेलिया नदीमा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या आशंकामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत दशरथचन्द नगरपालिका–१० का जीवन बुडालको हत्या भएको हुन सक्ने भन्दै आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ। 

नियन्त्रणमा लिइएको १२ जना वनभोजमा संलग्न भएको प्रहरीले जनाएको छ। ‘मृतकसँग वनभोजमा गएका ११ जना र एकजना सवारीचालक गरी १२ जनालाई नियन्त्रणमा लिएका छौँ,’ बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले भने। 

दरशथचन्द नगरपालिका–१० खडेनीका बुडाल गत शनिबार चमेलिया नदीको दोगडाकेदार गाउँपालिका–४ जाडाबगड भन्ने ठाउँमा साथीहरूसँग वनभोज गएका थिए। त्यही साँझ उनको लास फेला परेपको थियो। सँगै वनभोज गएकाहरूले जीवनको पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको बताएका छन्। 

घटनास्थलमा लासको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद भएको भन्दै वनभोज गएका सबैमाथि अनुसन्धानको माग गरेको मृतकका छिमेकी दाजु गोविन्दसिंह बुडालले बताए। 

‘भाइको मृत्यु बगेर भएजस्तो लाग्दैन, ऊ महाकालीमा पौडी खेल्ने मान्छे हो,’ छिमेकी दाजु गोविन्द भन्छन्, ‘प्रहरीले सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ।’  

चमेलिया नदीमा मृत भेटिएका बुडालको बायाँ आँखामाथि र छातीमा घाउ भएको आफन्तले बताएका छन्। वनभोजमा मृतक बुडालका आफ्नै भिनाजु र छिमेकी गाउँका युवा थिए। उनीहरूको कुरा पनि एक आपसमा जुधेको आफन्तले बताएका छन्। 

‘वनभोजमा गएकाहरू व्यक्तिपच्छिे फरक-फरक कुरा गरिरहेका छन्। प्रहरीले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ,’ मृतकका छिमेकी दिनेश चन्दले भने।

मृतक बुडालसँग वनभोजमा गएकाहरूले रमाइलो गर्नेक्रममा उनी पौडी खेल्न केही माथि गएको र धेरैबेरसम्म नआएपछि खोजी गर्दा आफूहरूले फेला पार्न नसकेको बताएका छन्। 

उनीहरूले नदीमा एक्कासि पानीको सतह बढेकाले मृतक बुडाल बगेको हुन सक्ने बताएका छन्। ‘चमेलियाको किनारमा हामी रमाइलो गर्दै थियौँ, जीवनले केहीमाथि गएर पौडी खेल्छु भन्यो,’ सँगै गएका उनका भिनाजु नारायणसिंह ऐरी भन्छन्, ‘मैले दुई चोटी नजानु भनेको थिए, १५-२० मिनेटसम्म नआएपछि खोज्न गयौँ। तर, कतै नभेटेपछि उसको लुगा र मोबाइल लिएर एक किलोमिटर तल आयौँ।’ 

तल आएर खाना खाएपछि करिब दुई घण्टाको बाटो पार गरेर शेरा प्रहरी चौकीमा उक्त कुरा जानकारी गराएको उनले बताए। 

वनभोजमा गएकाहरूले चमेलियामा सतह बढेको बताए पनि चमेलिया जलविद्युत् आयोजनाले भने ड्याम नखोलिएको बताएको छ। चमेलिया जलविद्युत् आयोजनाका प्रमुख पुरन सोब भन्छन् ‘आजभोलि पानीको बहाव घटेर ३० मेगावाटको ठाउँमा ११ मेघावाट मात्र बिजुली उत्पादन भइरहेको छ। जलाशयमा पानी नै छैन।’ 

दिउँसो १ बजे बेपत्ता भएको बुडालबारे साँझ ६ बने मात्र खबर पुगेको प्रहरीले बताएको छ। प्रहरीले उनको खोजी गर्दा वनभोज स्थलभन्दा केही टाढा नदीमा लास फेला पारेको थियो। सोमबार मृतक बुडालको पोस्टमार्टम गरिएको छ।