१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मटिहानी आइपुग्यो विश्वकै लामो र ठूलो धार्मिक परिक्रमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o६:oo

मिथिला माध्यमिकी परिक्रमा मटिहानी आइपुगेको छ। जनकपुरको हनुमानगढीबाट सुरु भएको परिक्रमा आज भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै मटिहानी आइपुगेको हो।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी दीपक पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न विशिष्ट व्यक्तिहरूका साथै मटिहानीवासीले मिथिला बिहारी र किशोरीजीको डोलासँगै सम्पूर्ण परिक्रमा यात्रीलाई स्वागत गरेका छन्। परिक्रमा स्थल अहिले परिक्रमा यात्री तथा परिक्रमा हेर्न आउनेहरूले भरिभराउ छ।

स्थानीय निकाय, बृहत् जनकपुर क्षेत्र विकास परिषद, मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरलगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानीयहरूको सहयोग र समन्वयमा परिक्रमा यात्रीहरूको लागि आवश्यक व्यवस्थापन भइरहेको छ। 

रामसीता मिथिलामा हुँदा बिहार (भ्रमण) गरेका देवस्थलहरू, राजा जनकको राज्यका चारैकोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भएको मानिन्छ), रामसीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरको लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा चलिरहेकोमा सोही क्रममा परिक्रमा मटिहानी आइपुगेको हो।

भगवान, महर्षि, ऋषिमुनि, साधुसन्तको तपोभूमि स्थलहरूको परिक्रमा गर्दा पुण्य र मोक्ष प्राप्ति हुने अटल विश्वासका साथ परापूर्वकालदेखि १५ दिने माध्यमिकी परिक्रमा सञ्चालन हुँदै आएको विश्वास छ।

यद्यपि, यसको सञ्चालनकै विषयमा फरक फरक मत छ। केही साधुहरू मिथिला बिहारी मन्दिरका प्रथम महन्थ लाढ्ली शरणजी महाराज नै परिक्रमाको प्रथम सञ्चालक रहेको बताउँछन् भने केहीले जनकपुरस्थित मधुकर कुञ्ज कुटीका सन्त सियालाल शरणजी महाराज (प्रेमलताजी महाराज) परिक्रमाको प्रथम सञ्चालक रहेको बताउँछन्। किशोरीजी डोला प्रमुख नवलकिशोर शरणसमेत सियालाल शरणलाई नै परिक्रमा सञ्चालक रहेको बताउँछन्।

परिक्रमाको दस्ताबेजहरू खोजबिन भइरहेको बृहत् जनकपुरक्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहको भनाइ छ। परिक्रमाको सुरुवातकर्ताबारे समयले बताउने र अहिले परिक्रमाको अन्तर्राष्ट्रियकरणबारे बहस हुनुपर्ने उनी बताउँछन्।

ad
ad