
पश्चिम नवलपरासीको सुस्तामा एक आमाले आफ्ना दुई सन्तानसहित मंगलबार नहरमा हामफाल्दा तीनैजनाको मृत्यु भएको छ ।
सुस्ता गाउँपालिका– २ हरकपुरनजिक २९ वर्षीया प्रतिमा थारू आफ्ना दुई छोरा नौ वर्षका क्रिस र सात वर्षीय सुमितलाई साथमै लिई पश्चिम गण्डक नहरमा हामफालेर बेपत्ता भएकी थिइन् ।
मंगलबार दिउँसो २ बजे घटना थाहा पाएलगत्तै प्रहरीले बेपत्ताको खोजी गर्ने क्रममा साँझ तीनैजना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार नहरमा पानी सुकाई खोजी गर्ने क्रममा घटनास्थलबाट एक सय मिटर तल आमा प्रतिमाले आफ्ना दुई छोराहरूलाई दायाँ र बायाँ हातमा सलले बाँधेर हामफालेको अवस्थामा शव फेला परेको हो ।
तीनैजनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासी पठाइएको पाण्डेले बताए । महलवारी गाउँकी थारूकी श्रीमान् तीर्थराम रोजगारीका क्रममा भारतमा रहेको बताइएको छ ।