सिराहाको मिर्चैयाबाट प्रहरीले साढे १० किलोग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार साँझ मिर्चैया नगरपालिका– ६ कटारीचोकमा गाँजा बिक्री वितरणको लागि लैजाँदै गरेको गोप्य सूचनाको आधारमा दुईवटा मोटरसाइकल चढेका शंकास्पद तीन युवकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा सो परिमाणमा गाँजा बरामद भएको हो।
पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका– ६ का ४६ वर्षीय कुशेश्वर यादव, धनगढीमाई नगरपालिका– १४ का ३६ वर्षीय गौरव शाही र २४ वर्षीय काले भन्ने भुपेन्द्रबहादुर ठकुरी रहेका सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरू चढेको अनटेस्ट पल्सर र बागमती प्रदेश ०२–०२६ प ०१९७ नम्बरको गरी दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ।
पक्राउ परेका तीनजनाविरुद्ध लागुऔषध मुद्दामा सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद लिई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए।