१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

आराध्या : बाबुआमा भएर पनि अनाथ बनेकी बालिकाको कथा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१८:oo

छोराछोरीको उज्ववल भविष्यको लागि भन्दै आजभोलिका बाबुआमाको दौडाहा यति छ कि आफ्ना साना छोराछोरीसँग बस्ने फुर्सद पनि छैन । कालान्तरको खुसीका लागि वर्तमानको खुसी खोसिएको छ । बाबुआमा छोराछोरीको भविष्य खोज्दै कुदिरहँदा बाबुआमाबाट टाढिरहेका छन् । कसैले छोराछोरीलाई छात्राबासमा राखेका छन् त कसैले घरमा काम गर्ने मान्छे राखेर बिहानदेखि रातिसम्म काममै कुदिरहेका छन् ।  यता छोराछोरी बाबुआमाले समय नदिएपछि एक्लो महसुस गर्दै डिप्रेसनको सिकार बनिरहेका छन् । यहि पेरिफेरिमा रहेर लेखक तथा निर्देशक रामजी ज्ञवालीले छोटो चलचित्र ‘आराध्या’ बनाएका छन् । यो चलचित्रले सहरका मध्यम वर्गीय बाबुआमा र छोराछोरीबीच बढेको दूरीलाई संयमित ढंगले प्रस्तुत गरिएको छ ।

नाम चलेको महंगो स्कुलमा पढ्ने आराध्यालाई कुनै कुराकाे अभाव हुँदैन । तरपनि उनलाई भित्रभित्रै बेचैनीले पोलिरहेको हुन्छ । उनी सँधै टोलाइरहन्छिन् । किनकी उनका बाबुआमा काममा एकदमै व्यस्त हुन्छन् । न उनीहरुलाई आफ्नै हातले छोरीलाई खाजा बनाएर पठाउने फुर्सद छ न त छोरीको जन्मदिन मनाइदिन नै । 

आराध्यालाई साथीले आफ्नो जन्मदिनको बारेमा उत्साहित हुँदै सुनाएको खुसी र उनकी आमाले आफ्नै हातले बनाएर पठाएको खाजा खाँदै आराध्या त्यहि कल्पना गर्छिन् । आफ्नी आमाले पनि त्यहि गरुन् । तर, कुनै दिन पनि आराध्यायको इच्छा पूरा भएन । 

आराध्यालाई रहर हुन्छ आफ्नी आमाले कपाल कोरिदिउन्,आफ्नै हातले खाजा बनाइदिउन् स्कुलमा हुने कार्यक्रममा आफैँ सहभागी भइदिउन् !  तर, कहिलेपनि उनका बाबुआमालाई त्यो फुर्सद हुँदैन ।  जतिखेर पनि घरमा काम गर्ने कोपिला मात्र हुँदा आराध्यालाई साह्रै रिस उठ्छ । त्यसैले उनी कक्षामा बस्दा पनि टोलाउने, साथीहरुसँग नखेली एकान्तमा बस्ने,  घरका गुडियाहरुसँग आफ्नी आमाले जस्तै उनीहरुलाई पनि समय नदिएको भनेर कुरा गर्ने गर्छिन् ।  बाबुले समय दिउन भन्ने सोचेर  घरमा राखेको घडी समेत बिगार्छिन् । 

उनले  आमालाई एक बिहान सोध्छिन् – आमा म जन्मेको कुनै गते छैन हो ? होइन भने तपाईंहरुले मेरो जन्मदिन किन मनाइदिनुहुन्न ? मेरो जन्मदिन भन्दै किन केक काटिदिनुहुन्न ? छोरीको प्रश्न सुनेर आमाले ढाडस दिँदै भन्छिन् यसपाली जसरी पनि तिम्रो जन्मदिन भव्य तरिकाले मनाउने हो । साथीहरु सबैलाई खबर गर ।

आराध्याले  खुसी हुँदै स्कुलको पालेदाइ, मेडम र साथीहरु सबैलाई खबर गर्छिन् ।जन्मदिन मनाउने तयारी हुँदै थियो । केके टेबुलमा  काटिन ठिक्क थियो ।  ठिक त्यहीबेला आराध्याकी आमालाई (डाक्टर)आफूले काम गर्ने अस्पतालबाट फोन आउँछ तुरुन्त आउनुपर्‍यो भनेर । उनी एकैछिन्मा  आउने भनेर जान्छिन् । घरभरी आराध्याका साथीहरु आइपुग्छन् तर, उनका बाबुआमा आएनन् । कोपिलाले केक काट्न आग्रह गरिन् तर, आराध्याले मानिनन् ।

जन्मदिन मनाउन आएका साथी र उनका बाबुआमा निराश हुँदै घर फर्किन्छन् । त्यो भन्दा बढी निराश आराध्या हुन्छिन् । आधारातमा बाबुआमा घर फर्किन्छन् , टेबुलमा केक जस्ताकोतस्तै छ । गिफ्टहरु छरपष्ट छन् । बाबुआमाको प्रतिक्षामा रहेकी आराध्या फोनमा एउटा मार्मिक भिडियो छोडेर कोपिलाको काँखमा त्यहि सोफामा निदाउछिन् । 

भिडियाेमा उनले भनेकी छिन् –ड्याडी ममी तपाईंहरुले मलाई आफू भएर पनि अनाथ बनाउनु भयो । व्यस्तताको नाममा मलाई हरेकदिन दिन ढाँट्नुहुन्छ । न कहिलै घुमाउन लैजानुुहुन्छ न आफ्नो हातले खाना खाजा बनाएर दिनुहुन्छ । मेरो जन्मदिनमा साथीहरु आएर गए । तर तपाईंहरु आउनु भएन । सँधै व्यस्त तपाईंहरु  म सँग कहिले खेल्नुहुँदैन । मेरो जन्मदिनमा तपाईंहरुलाई केहि मतलव नभए पनि म आफैंले आफैंलाई भन्छु हेप्पे बर्थडे आराध्या ! आराध्याको मार्मिक भिडियोपछि बाबुआमा भावविह्वल हुन्छन् ।यो दृश्यले दर्शकलाई सोचमग्न बनाउछ । 

रामजीले यो छोटो चलचित्रमार्फत छोराछोरीको खुसीलाई तिलाञ्जली दिएर पैसाको पछि दौडनु भविष्य उज्ववल नभइ खतरनाक हुन्छ भन्ने सन्देश दिन खोजेका छन् ।  

ad
ad