मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण ४ बिहीबार
  • Monday, 31 August, 2026
२o७९ फाल्गुण ४ बिहीबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि चौतर्फी पहल गरेका छौँ : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ४ बिहीबार १४:३४:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्। 

पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सीधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताए। 

गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन्  । यहाँका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग छ।

मन्त्री किराँतीले भने, ‘पोखरादेखि सीधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोसिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ।’

उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताए। 

नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घन्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेकाले मन्त्रालयका कर्मचारीलाई व्यावसायिक योजना ल्याउन आग्रह गरेको उनले जानकारी दिए। 

पर्यटनमन्त्री किराँतीले पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतंक रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको बताए। 

विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले दुर्घटनाको प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबार मात्र बुझाएकाले सम्पूर्ण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने मन्त्री किराँतीले जानकारी दिए। 

आफ्नो मन्त्रालयमा समस्याको चाङ रहेको र चुनौती तथा अप्ठ्यारा भए पनि समाधान असम्भव छैन भनेर आफू लागिपरेको उनले बताए।