१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ फाल्गुण ४ बिहीबार ०८:५८:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

टर्की भूकम्पमा ७० लाख बालबालिका प्रभावित : राष्ट्रसंघ

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार ०८:५८:००

गत हप्ता टर्की र सिरियाका विभिन्न भागलाई ध्वस्त पार्ने महाभूकम्प र त्यसपछिको परकम्पबाट ७० लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । ‘टर्कीमा भूकम्पबाट प्रभावित १० प्रान्तमा बसोवास गर्ने कुल बालबालिकाको संख्या ४६ लाख छ । सिरियामा २५ लाख बालबालिका प्रभावित छन्,’ संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने ।

‘भूकम्पमा हजारौँ बालबालिकाको मृत्यु भएको डर छ,’ एल्डरले भने, ‘यो संख्या बढ्दै जाने कुरा दुःखद रूपमा स्पष्ट छ,’ उनले भने । भग्नावशेषको बीचमा लाखौँ घरबारविहीन मानिसहरू चिसो र भोकको सामना गरिरहेका छन् ।  बलबालिकासहितका परिवारहरू ‘सडक, मल, विद्यालय, मस्जिद, बस स्टेसन र पुलमुनि सुतिरहेका र आफ्ना बच्चाहरूसँग खुला आकाशमुनि बस्न बाध्य भएका उनले बताए । 

सिरियाको स्थिति दयनीय
टर्कीको तुलनामा सिरियाको स्थित दयनीय रहेको राष्ट्रसंघका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्पपीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा संक्रामक रोगको जोखिम बढेको छ । 

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियामा उद्धारका काम समाप्त भएको जनाउँदै स्वयंसेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरियाका भूकम्पपीडितले आफूहरूलाई घर फर्काउन माग गरेका छन् । गृहयुद्धका कारण आफ्नै भूमिमा शरणार्थी बनेका उनीहरूले सिरिया सरकारसँग घरफिर्तीको माग गरेका हुन् ।

सहयोगका लागि अपिल
संयुक्त राष्ट्रसंघले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग गर्न अपिल गरेको छ । महासचिव एन्टोनियो गुटरेसले टर्कीका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन् ।

टर्कीको रेडक्रिसेन्टले आगामी डेढ वर्षसम्म क्षतविक्षत् टर्किएमा सहायता परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ । यसैबीच, दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनले पठाएका मानवीय सहायता सामग्री बोकेका मालबाहक ट्रक सिरिया पुगेका छन् ।एल साल्भाडोर, जर्मनी, मेक्सिको, कतार, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, युक्रेन र अमेरिकाबाट उद्धारकर्ताले ल्याएका तालिम प्राप्त कुकुरको सहयोगमा भूकम्पको एक सातापछि भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गरिएको छ । 

मृत्यु हुने ४१ हजार नाघे 
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । भूकम्पमा दसौँ हजार घाइते भएका छन् भने दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । 

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सयजनाको मृत्यु भएको छ । टर्कीमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । 

टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीका दशवटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ । वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट पाँच सयवटा आणविक बमले निष्कासन गर्ने शक्तिबराबरको ऊर्जा निष्कासन भएको थियो । 

भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्कीमा उद्धारकर्मी अझै प्रयत्न गरिरहेका छन् भने भूकम्पको २०५ घन्टापछि एक महिलासहित नौजनालाई जीवितै उद्धार गरिएको छ । आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ ।

अदाना सहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । टर्कीका राष्ट्रपति तैयप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताएका छन् । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा टर्की परेको बताएका छन् । 

प्रारम्भिक आकलनअनुसार टर्कीमा ८५ अर्ब अमेरिकी डलरबराबरको क्षति भएको छ । झन्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन ।