कोभिडविरुद्ध बुस्टर डोजका लागि प्रयोगमा ल्याइने बाइभ्यालेन्ट खोप नेपाल आइपुगेको छ । सोमबार कोभ्याक्स परियोजनाअन्तर्गतको तीन लाख ४५ हजार डोज खोप नेपाल ल्याइएको हो ।
कोभिडविरुद्धको बुस्टर डोज अभाव भइरहेको समयमा बाइभ्यालेन्ट खोप आएसँगै खोपको माग पूर्ति गर्न सकिने बताइएको छ । १२ वर्षभन्दामाथि उमेर समूहमा लगाउन मिल्ने खोप उपलब्ध नहुँदा कोभिडविरुद्धको बुस्टर डोजका लागि अस्पताल पुग्ने सेवाग्राहीले खोप लगाउन पाएका थिएनन् ।
बाइभ्यालेन्ट खोप अझै आउने क्रममा रहेकाले अहिले आएको खोप केही समयका लागि कोल्ड चेनमै राखिने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार बुस्टर डोजका लागि कुन प्रदेशमा कति खोप आवश्यक छ भन्ने तथ्यांक संकलन भइरहेकाले तथ्यांक पाइसकेपछि मात्रै सम्बन्धित क्षेत्रमा खोप पठाउने तयारी भइरहेको छ । ‘अझै विभिन्न चरणमा खोप आउने तालिका छ । अहिले प्रदेशअनुसार मागको लिस्टिङपछि मात्रै खोप वितरण गरिन्छ,’ उनले भने ।
नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोपको बुस्टर डोज ओमिक्रोनको सबभेरिएन्टविरुद्ध प्रभावकारी मानिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार सोमबार तीन लाख ४५ हजार मात्रा खोप ल्याइएको हो ।