१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २९ आइतबार
  • Friday, 09 May, 2025
२o७९ माघ २९ आइतबार २o:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोलबजारको एबी मलमा आगलागी, साढे पाँच करोडको क्षति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २९ आइतबार २o:२३:oo

सिराहाको गोलबजार नगरपालिका- ६ स्थित सिराहा सुपरमार्केट प्रालिद्वारा सञ्चालित एबी मलको गोदाममा आगलागी हुँदा करोडौँ मूल्यकाे सामग्री जलेर नष्ट भएको छ। 

गोलबजार- ४ मा रहेको मलको गोदाममा आइतबार अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स सामान, फर्निचर, भान्साका सामान गरी पाँच करोड ५० लाखभन्दा बढीको सामाग्री जलेर नष्ट भएको एबी मल व्यवस्थापनले जनाएको छ। 

आगलागीपछि मलमा बिक्री गर्ने गरी भण्डारण गरिएका महँगा तयारी कपडासहितका सामग्री जलेर काम नलाग्ने भएको मलका प्रमुख कार्यकारी अधिकृत पिन्टु राउतले जानकारी दिए।

आगलागीमा सिराहाको मिर्चैयाका र गोलबजार तथा धनुषाको जनकपुरस्थित मलका लागि झिकाएर राखिएका सामग्री काम नलाग्ने गरी जल्नुका साथै कार्यालय प्रायोजनका लागि जडान गरिएका सर्बर कम्प्युटर, सिसिक्यामेरालगायतका सामानसमेत जलेको प्रमुख कार्यकारी अधिकृत राउतले बताए।

आगलागीले गोदाम रहेको भवनमा पनि क्षति पुगेको उनले बताए। गोलबजार प्रहरीका अनुसार दिउँसो करिब २ बजेतिर सुरु भएको आगलागी गोलबजार, सिराहा र लहान नगरपालिकाको बारुणयन्त्रको सहयोगले करिब तीन घण्टामा नियन्त्रणमा लिइएको थियो। 

बिल हेरेर क्षतिको यकिन :  प्रहरी

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीका अनुसार आगलागी नियन्त्रण गर्नै हम्मेहम्मे परेकाले कति क्षति भयो भन्ने यकिन भन्न नसकिने बताए। 

‘आगो नियन्त्रण गरिए पनि विद्युत् आपूर्ति बन्द भएकाले भित्र केके जलेको छ भन्ने राम्ररी हेर्न पनि भ्याएका छैनौँ,’ प्रहरी निरीक्षक केसीले भने, ‘मलले सबै सामान भ्यान बिलमा खरिद गरेर ल्याएकाले सबै सामानको बिलको आधारमा कति मूल्यको सामान हो, कति जल्यो भन्ने यकिन भएपछि मात्र क्षतिको आकलन गर्न सकिन्छ।’ 

करिब २५ करोड रुपैयाँको लागतमा ४ असोज २०७६ देखि सञ्चालन हुँदै आएको मलमा किराना सामानदेखि भान्सामा प्रयोग हुने सामान, विद्युतीय सामग्री, जुत्ता चप्पल, तयारी कपडा, खेलकुद, बेबी फुड, आयातित ब्रान्डेड फर्निचरका सामानहरू सहुलियत मूल्यमा खुद्रा बिक्री गर्दै आएको छ। सिराहाको अर्नमा गाउँपालिका १ महनौरका जहाँगिर अन्सारीका तीन दाजुभाइले खाडी मुलुक दुबईमा कमाएर आई मल सञ्चालन थालेका थिए।