
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन सुधार गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार आयोजित निर्वाचन प्रणाली र व्यवस्थापन प्रक्रियाबारे आयोग र नीति अध्ययन प्रतिष्ठानले गरेको अध्ययनको प्रारम्भिक निष्कर्षको प्रस्तुतीकरण कार्यक्रममा उनले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र तथा मौजुदा कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने विषय पहिचान गरी दल तथा अन्य सरोकारवालाको राय–सुझावसहित निर्वाचन व्यवस्थापन र सञ्चालन सुझावसहित एकीकृत कानुनको मस्यौदा तयार भइसकेको जानकारी दिए ।
नागरिकले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको र निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी आयोगमा रहेकाले त्यसका लागि समयानुकूल परिष्कृत निर्वाचन कानुन आवश्यक रहेको उनले औँल्याए ।
‘यो विधेयक छिटो संसद्बाट पारित गर्न नेपाल सरकार तथा राजनीतिक दलहरूबाट सहयोग हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु,’ उनले भने । नेपालमा निर्वाचन प्रणाली र व्यवस्थापन सुधारको विषय भन्दा र सुन्दा निकै कर्णप्रिय लागे पनि छनोट र व्यवस्थापनका दृष्टिले जटिल हुने गरेको उनको भनाइ थियो ।