१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २४ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ माघ २४ मंगलबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाई-भैँसीको भिडियो एक्स–रे हुन थालेपछि गुल्मीका किसान खुसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २४ मंगलबार १o:३२:oo

भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीले भिडियो एक्स–रे सेवा सुरु गरेपछि यहाँका पशुपालक किसान खुसी भएका छन् । यो सेवा जिल्लामा अहिलेसम्म थिएन । भिडियो एक्स–रेबाट गाई-भैँसीको बाँझोपनको समस्या र गर्भ परीक्षण गरिनेछ । यी दुई प्रमुख समस्याको समाधानसँगै पत्थरी, कलेजोलगायतका परीक्षण पनि हुने केन्द्रले जनाएको छ ।

केन्द्रले भिडियो एक्स–रे ल्याएसँगै इस्मा गाउँपालिका- ६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्ना गाई-भैँसीको समस्या परीक्षण गराए । केन्द्रले नयाँ सेवा प्रवाह गरेको भन्दै घिमिरेले खुसी व्यक्त गरे । ‘उपचारमा प्रविधि भित्रिएकोमा खुसी छाैँ । मैले पनि भिडियो एक्स–रेमार्फत गाई-भैँसीको बाँझोपनको पहिचान गरेर उपचार गरिरहेको छु,’ उनले भने, ‘धेरै किसानले याे सुविधाको उपभोग गर्नुपर्छ ।’

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए । 

पशुहरूमा हुने बाँझोपनको पहिचान नहुँदा किसानले उपचार र विकल्प रोज्न पाएका थिएनन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समय खर्च गरेर पशुचौपाया पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

पशुहरूको गर्भ पहिचान अहिलेसम्म तीन महिनापछि हातले छामेर हुने गरेको थियो । कार्यालयमा मेसिन आएसँगै बाँझोपन निवारणका लागि किसानका घरघरमा पुगेर पशुहरूको भिडियो एक्स–रे गर्नका लागि पालिकाका प्राविधिकमार्फत तथ्यांक संकलन भइरहेको छ ।