१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Friday, 09 May, 2025
२o७९ माघ २३ सोमबार १५:२९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

इन्डोनेसियाको आर्थिक वृद्धिदर नौ वर्षयताकै उच्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १५:२९:oo

विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बाबजुद इन्डोनेसियाको आर्थिक वृद्धिदर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्यांकले देखाएको छ।

सन् २०२० मा इन्डोनेसियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) २.०७ प्रतिशतले खुम्चिएपछि यसको निर्यात र पर्यटनमा निर्भर अर्थतन्त्रमा ठूलो असर परेको थियो। 

तर, दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा त्यसयता उकालो लागेको छ र गत वर्ष ५.३१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको तथ्यांक इन्डोनेसियाली सरकारले सोमबार सार्वजनिक गरेको छ। 

‘सन् २०२२ मा इन्डोनेसियाको अर्थतन्त्र बलियो रूपमा वृद्धि भएको तथ्यांकले देखाउँछ,’ तथ्यांकसम्बन्धी निकायका प्रमुख मार्गो युवोनोले भने।  

उनले उच्च निर्यात मूल्य र यात्रा प्रतिबन्ध हटाइएका कारण वृद्धि भएको र मार्चमा क्वारेन्टाइनको आवश्यकतामा कमी आएसँगै व्यापारलाई बढावा दिइएको र पर्यटक आगमनमा वृद्धि भएको बताए।  

युवोनोले भने, ‘लगभग सबै अन्तर्राष्ट्रिय विमानस्थलहरू पुनः सञ्चालनमा आएपछि मानिसहरूको आर्थिक गतिविधि बढेको छ।’

देशले वर्षको पहिलो ६ महिनामा सात लाख ४० हजारभन्दा बढी आगन्तुकहरूलाई स्वागत गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा आठ सय प्रतिशतभन्दा बढीको वृद्धि हो।

जुलाई–सेप्टेम्बरको एक मजबुत अवस्थापछि वर्षको अन्तिम त्रैमासिकमा सुस्त वृद्धिको बाबजुद वार्षिक वृद्धि बलियो देखिएको हो। इन्डोनेसियाको अक्टोबर–डिसेम्बरमा आर्थिक वृद्धिदर ५.०१ प्रतिशतले बढेको छ, जुन अघिल्लो तीन महिनामा ५.७२ प्रतिशत थियो।

तर, सन् २०२१ मा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि पाम आयल, कोइला र निकेलजस्ता प्रमुख वस्तुको निर्यात मूल्यमा उल्लेख्य वृद्धि भएपछि यसले महामारीको न्यूनताबाट आफ्नो वार्षिक वृद्धिलाई ३.६९ प्रतिशतले कायम राखेको छ।  

अर्थशास्त्रीहरूका अनुसार सुधारका बाबजुद यस वर्ष देशको आर्थिक वृद्धिदर केही सुस्त हुने अनुमान गरिएको छ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ एसिया अर्थशास्त्री ग्यारेथ लेदरले भने, ‘कमजोर विश्वव्यापी माग, उच्च मुद्रास्फीति र उच्च ब्याज दरले गतिविधि खुम्चिएकोले यस वर्ष आर्थिक वृद्धि दरमा थप कमजोरी आउन सक्ने देखिन्छ।’ आगामी त्रैमासिकहरूमा वृद्धि अझ सुस्त हुने अनुमान गरिएको छ।