
सत्तापक्षकै सांसदले प्रदेश खारेजीको माग गरेका छन् । बागमती प्रदेश सभाको आइतबारको बैठकमा राप्रपा सांसद आशा लामाले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन् । उनी समानुपातिक सांसद हुन् ।
बागमतीमा राप्रपा सत्तासीन छ । सभाको सभामुखसमेत राप्रपाबाट छन् । शून्य समयमा बोल्न क्रममा लामाले देशले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरिन् । उनले नेपाली जनताले संघीयता नचाहेको दाबीसमेत गरिन् ।
‘तीन तहको संरचनाको कारण जनतालाई करको मार परको छ । जनता र देश दुवै संघीयता धान्न सक्ने अवस्थामा छैनन् । कारको मारले जनता समस्यामा छन् । संघीयताको कारण देशको अर्थतन्त्र खोक्रो भइसकेको छ,’ लामाले भनिन् ।
अहिले उठेको करले चालू खर्च मात्र धान्न पनि मुस्किल भइरहेको दाबी गर्दै देशको विकास र जनताको आर्थिक अवस्था सुधार्ने भन्ने कुरा भ्रम मात्रै भएको जिकिर गरिन् । देशले धान्न सक्ने दुई तहको सरकार बनाउनुपर्ने उनको भनाइ थियो ।
बैठकमा विभिन्न दलका १७ सांसदले धारणा राखेका थिए । उनीहरूले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्दै बेथितिका कारण प्रेम आचार्यजस्ता कयौँ युवाले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए ।
यस्तै, चितवनका किसानले सडकमा तरकारी फ्याँकेर गरेको विरोधलाई प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने मागसमेत गरे ।
कांग्रेस सांसद उत्तम जोशीले कृषि उत्पादनको बजारीकरणका विषयमा प्रदेश सरकार पनि गम्भीर हुनुपर्ने बताए । उनले विदेशबाट आयात हुने तरकारीले बजार पाउने तर नेपाली किसानले उत्पादन गरेका तरकारी सडकमा फ्याँक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
कांग्रेसका अर्का सांसद उर्मिला सुनुवारले राज्यव्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन् ।
एमाले सांसद प्रेमभक्त महर्जनले किसानहरूको समसया हल गर्न प्रदेश सरकारले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले किसानहरूले समयमा मल नपाउने र उत्पादन भएको कृषि उपज बेच्न नपाउने दुवै अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए ।
माओवादी सांसद ईश्वर सापकोटाले पनि कृषि उत्पादनको बजार व्यवस्थापनमा सरकारलाई गम्भीर हुन माग गरे ।
आइतबारको बैठकमा राप्रपाकी कुमारी तामाङ, एमालेका अमनकुमार मास्के, भारती पाठक, जयराम थापा, दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, कांग्रेसका कुन्दनराज काफ्ले, गीता गुरुङ, गोविन्द लम्साल, कुमार तामाङ, माओवादीका उर्मिलाकुमारी लामा र नेमकिपाकी गीता काफ्लेले समय लिएर बोलेका थिए ।
प्रदेश सभाको अर्को बैठक भोलि दिनको १२ः०८ बजे बस्ने गरी स्थगित भएको छ ।