Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २० शुक्रबार ०८:२२:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नयाँ नोटमा बेलायतका राजाको तस्बिर नछाप्ने अस्ट्रेलियाको घोषणा

Read Time : < 1 मिनेट
२०७९ माघ २० शुक्रबार ०८:२२:००

अस्ट्रेलियाले आफ्नो बैंक नोटमा बेलायतका नयाँ राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ । अस्ट्रेलियाको केन्द्रीय बैंकले बिहीबार उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अंकित अस्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने बैंकले जनाएको छ । केन्द्रीय बैंकको निर्णयसँगै हालै राजसिंहासनमा रहेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा नछापिने भएको छ ।

गत सेप्टेम्बर ८ मा महारानी एलिजावेथको मृत्यु भएपछि राष्ट्राध्यक्षको सम्मानमा अस्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा उनीहरूले राजतन्त्रको अन्त्यको आह्वान गरेका थिए । यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ । चाल्र्स तृतीय संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका पनि राष्ट्राध्यक्ष हुन् । सन् १९९९ मा भएको जनमत संग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।

केन्द्रीय बैंकको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको छ । सरकारको यो समर्थनबाट अस्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको संकेत गरेको छ । नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ । राजा चाल्र्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन् । बेलायतको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन् ।