
बुटवलमा रहेकाे नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरका विद्यार्थीले संसद्कै झल्को दिने गरी संसदीय अभ्यास गरेका छन् । बुधबार बिहान संसद् बैठकमा जस्तै सभामुखको आसनदेखि सत्ता पक्ष, प्रतिपक्षका सिटको व्यवस्थासहित गरिएको नमुना संसद् कार्यक्रममा विद्यार्थीले संसद् बैठकको झल्को दिने गरी प्रस्तुति गरेका हुन्।
करिब दुई घन्टा चलेको नमुना संसदमा शून्य समय, विशेष समयदेखि कानुन निर्माणका प्रक्रियासमेत भएका थिए । सांसदको भूमिकाबाट सैद्धान्तिक तथा दफावार छलफलदेखि मन्त्रीहरूको जवाफसम्मका प्रस्तुति विद्यार्थीले राखेका थिए । नागरिकता विवाद , विमान दुर्घटना, विकास निर्माणका विषयदेखि शैक्षिक क्षेत्रका विषयमा नमुना संसदमा विद्यार्थीले कुरा उठाएका थिए ।
सत्तापक्ष, प्रतिपक्ष, सभामुखदेखि विभिन्न भूमिकासहितको नमुना संसदमा केही विद्यार्थीको प्रस्तुति त सांसदहरूकै जस्तै थियो । संसद् बैठकमा शीर्ष नेताहरूको उपस्थिति कम हुने गरेकोतर्फ संकेत गर्दै विपक्षी दलकोे नेताको रूपमा रोस्ट्रममा बाेल्न उभिएकी प्रमुख प्रतिपक्ष दलका नेता विनिता पाण्डेले आफू धेरै समयपछि सम्बाेधन गर्न लागेको बताएकी थिइन् ।
कानुन समूहका मात्रै नभई अन्य समूहका विद्यार्थीको पनि उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सभामा नवनिर्वाचित सांसद जानकी न्यौपाने पनि उपस्थित थिइन् ।
विद्यार्थीलाई सबै क्षेत्रको जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले विद्यालयले विभिन्न कार्यक्रममा जोड दिँदै आएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए । नवीन यस क्षेत्रको सामुदायिक विद्यालयमा अब्बल विद्यालयमध्येमा पर्दछ ।
नवीन विद्यार्थी क्लबको आयोजनामा नवीन औद्योगिक कदरबहादुर रीता माविका कानुन समूहका विद्यार्थीको सहआयोजना र नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा सञ्चालित कार्यक्रममा विद्यार्थीको नमुना संसद्को प्रस्तुति हेरिसकेपछि मन्तव्य राख्दै लुम्बिनी प्रदेश सभा सदस्य न्यौपानेले विद्यार्थीले उत्कृष्ट नमुना संसद् कार्यक्रम सञ्चालन गरेको भन्दै भावी दिनमा अझै प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरिन् ।
उनले समाज परिवर्तनका लागि नयाँ पुस्ता सक्रिय रूपमा अगाडि आउनुपर्नेमा जोड पनि दिइन् । यस अवसरमा नेपाल सरकारका सहसचिव बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, वरिष्ठ अधिवक्ता शालिकराम बन्जाडे, बुटवल बहुमुखी क्याम्पस कानुन संकायका सहायक क्याम्पस प्रमुख जीवनारायण अधिकारी, लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कानुन समूह इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, विज्ञान समूहकी विद्यार्थी अंकिता पराजुलीलगायतले नमुना संसदबारे मन्तव्य व्यक्त गरेका थिए ।
नवीन विद्यार्थी क्लबका कार्यक्रम संयोजक विवेककुमार मिश्रको अध्यक्षतामा नवीन विद्यार्थी क्लबकी अध्यक्ष जुना परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सभामुखको भूमिका विनोद खत्रीले गरेका थिए भने उपसभामुखको भूमिका जुना परियारले गरेकी थिइन् ।
उक्त नमुना संसद् कार्यक्रममा उत्कृष्ट नेतृत्वकर्तामा प्रमुख प्रतिपक्षबाट विनिता पाण्डे, उत्कृष्ट वक्तामा सत्तापक्षबाट अंकिता पराजुली र अनुसन्धानकर्तामा प्रमुख प्रतिपक्षबाट पिकी पासी भएकी छिन् ।
सत्तापक्षबाट बमबहादुर विक (प्रधानमन्त्री), अमिशन थापा (गृहमन्त्री), फूलप्रसाद बिसी (भौतिक पूर्वाधारमन्त्री), सन्देश विश्वकर्मा (अर्थ तथा वाणिज्यमन्त्री), राजन थापा (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री), प्रकाश बिसी (प्रमुख सचेतक)को भूमिकामा रहेका थिए ।
नमुना संसद् बैठकमा सन्ध्या सुवेदी, चिन्तामणि विक, सिजन भट्टराई, आयुष्मा कुँवर, सुरुचि रेग्मी, धन्यवाद चौधरी, आदेश कुँवर, सीमा बस्याल, कविता भट्टराई, ईशा घर्ती मगर, सृष्टि खत्री, अंकिता पराजुली, पम्फा घर्तीमगर, रिना चौहान र सृष्टि थापाले शून्य, विशेष समयका अतिरिक्त दफावार छलफल तथा सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।
प्रतिपक्षबाट विप्सना राई, विनिता पाण्डे, पिकी पासी, कान्ति परियार, अनुष्का बर्मा, राहुल पाण्डे, विजयप्रकाश कुर्मी, सन्दीप परियार, सोनु विक, मिलन श्रीस र दिया कुमालले विभिन्न भूमिका निर्वाह गरेका थिए ।