१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ १९ बिहीबार ०९:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

‘कोर्स करेक्सन’ गर्ने प्रयासमा कांग्रेस

Read Time : > 3 मिनेट
२०७९ माघ १९ बिहीबार ०९:१७:००

राष्ट्रपतिको निर्वाचनलाई ‘कोर्स करेक्सन’को ‘टर्निङ प्वाइन्ट’ बनाउने कांग्रेस नेताहरूको कोसिस 

सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा मतभेद बढिरहँदा कांग्रेस राजनीतिक कोर्स करेक्सन गर्ने दाउमा छ । सरकारलाई विश्वासको मत दिएर प्रधानमन्त्रीसँग संवाद बनाइराखेको कांग्रेस राष्ट्रपति निर्वाचनसम्म पुग्दा गत १० पुसमा भत्किएको राजनीतिक कोर्सलाई करेक्सन गर्ने रणनीतिमा लागेको हो । 

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र आफ्नै पार्टीले सिफारिस गरेको व्यक्ति नै हुनुपर्ने एमाले अध्यक्ष केपी ओलीको अडानले सत्ता साझेदार प्रमुख दुई दलबीच दूरी बढ्दो छ । गृह मन्त्रालय विवादसमेत जोडिएर प्रचण्ड–ओली दूरी बढ्दै गएको भन्दै कांग्रेसले पछिल्ला घटनाक्रममाथि गहिरो नजर राखेको छ । 

अनौपचारिक कुराकानीमा कांग्रेस नेताहरू राष्ट्रपतिको निर्वाचनलाई कांग्रेसले ‘कोर्स करेक्सन’को ‘टर्निङ पोइन्ट’ बनाउन खोजेको बताउँछन् । एक पदाधिकारीका अनुसार सरकार निर्माणका क्रममा पाँचदलीय गठबन्धन टुटेपछि २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ‘कोर्स करेक्सन’को सुरुवात गरेको थियो । 

रामचन्द्र पौडेल, नेता, कांग्रेस
मुलुकको परिस्थिति असहज छ । अप्राकृतिक गठबन्धन बनेका कारण सत्ता साझेदार दलहरूबीच जुहारी चलिरहेको छ । हामी सबै परिस्थिति नजिकबाट नियालिरहेका छौँ । देशलाई निकास दिन कांग्रेसको भूमिका आवश्यक छ । सहमति, सहकार्य र एकता व्यवहारमै लागू हुनु आवश्यक छ । यस अवस्थामा सबैको साझा सहभागिता हुने गरी दलहरूबीच कसरी निकटता कायम गर्ने र कसरी एकता कायम गरेर निकास निकाल्ने भन्नेमा कांग्रेसको ध्यान केन्द्रित छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल मुुलुक सरकार गठनका क्रममा बनेको गठबन्धन ‘अप्राकृतिक’ भएको र अहिले मुलुकको अवस्था असहज रहेको विश्लेषण गर्छन् । यसबाट पार पाउन कांग्रेसले भूमिका खेल्ने वेला आएको पौडेलको दाबी छ । ‘मुलुकको परिस्थिति असहज छ । अप्राकृतिक गठबन्धन बनेका कारण सत्ता साझेदार दलहरूबीच जुहारी चलिरहेको छ । हामी सबै परिस्थिति नजिकबाट नियालिरहेका छौँ,’ पौडेलले भने, ‘देशलाई निकास दिन कांग्रेसको भूमिका आवश्यक छ । सहमति, सहकार्य र एकता व्यवहारमै लागू हुनु आवश्यक छ । यस अवस्थामा सबैको साझा सहभागिता हुने गरी दलहरूबीच कसरी निकटता कायम गर्ने र कसरी एकता कायम गरेर निकास निकाल्ने भन्नेमा कांग्रेसको ध्यान केन्द्रित छ ।

२५ फागुनमा राष्ट्रपति निर्वाचनको मिति तोकिएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसको ध्यान राष्ट्रपतिमै छ । निर्वाचनसम्म वर्तमान गठबन्धन टुटाएर कोर्स करेक्सन गर्ने कांग्रेसको पहिलो दाउ छ । त्यसो नभए गैरराजनीतिक व्यक्तिलाई समर्थन गर्न तयार भएर राष्ट्रपति एमालेको पोल्टामा जानबाट रोक्ने कांग्रेसको दोस्रो रणनीति छ । 

संविधान रक्षाका लागि कांग्रेसले राष्ट्रपतिमा आफ्नोतर्फबाट साझा उम्मेदवार बनाउने प्रयत्न गरिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का पार्टीबाट साझा उम्मेदवार बनाउन सबै दलसँग अनौपचारिक छलफल भइरहेको बताउँछन् । तर, वर्तमान गठबन्धन टुटाउने विषयमा कांग्रेस प्रवेश नगरेको उनको दाबी छ । ‘पार्टीले राष्ट्रपतिको उम्मेदवार उठाउँछ । उम्मेदवार को भन्ने पार्टीको बैठक बसेर टुंगो लगाउँछौँ । सबै राजनीतिक शक्तिसँग सहमतिमा साझा उम्मेदवार बनाउने प्रयास हाम्रो रहनेछ । यसका लागि अनौपचारिक रूपमा सबैसँग छलफल भइरहेको छ । अहिलेको गठबन्धनको विषयमा प्रवेश गरेका छैनाैँ,’ उनले भने ।

प्रवक्ता डा. प्रकाशशरण महत कांग्रेसको सहमतिका लागि माओवादीसहित मधेसकेन्द्रित दलहरूसँग छलफल भएको बताउँछन् । आफूहरूको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डसहित अरू दलसमेत सकारात्मक रहेको उनको दाबी छ । ‘संसद्मा रहेका दलहरूसँगको छलफल सकारात्मक नै छन्, हाम्रो प्रस्तावमा अरू दल सकारात्मक नै छन्,’ उनले भने, ‘संविधान रक्षाका लागि कांग्रेसबाटै राष्ट्रपति हुनु उपयुक्त हुुन्छ भन्नेमा प्रधानमन्त्री पनि सकारात्मक नै रहेको पाएका छौँ । निर्णायक समय आइसकेपछि सबै टुंगो लाग्ने नै छ, निर्णय गर्ने वेलासम्म के हुन्छ गर्भमा छ,’ महतले भने । उनले राष्ट्रपतिको उम्मेदवारका रूपमा कसलाई अघि सार्ने भन्ने विषय भने टुंगो लाग्न बाँकी रहेको बताए । स्रोतका अनुसार कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारको रूपमा वरिष्ठ नेता पौडेलको नाम चर्चामा छ । एक पदाधिकारीका अनुसार पछिल्लो समय कृष्णप्रसाद सिटौलाको नामसमेत प्रवेश गरेको छ । साथै सभापति देउवा आफैँ अघि सर्नुपर्ने आवाज पनि कांग्रेसमा छ । 

पूर्णबहादुर खडका, उपसभापति, कांग्रेस
पार्टीले राष्ट्रपतिको उम्मेदवार उठाउँछ । उम्मेदवार को भन्ने पार्टीको बैठक बसेर टुंगो लगाउँछौँ । सबै राजनीतिक शक्तिसँग सहमतिमा साझा उम्मेदवार बनाउने प्रयास हाम्रो रहनेछ । यसका लागि अनौपचारिक रूपमा सबैसँग छलफल भइरहेको छ । अहिलेको गठबन्धनको विषयमा प्रवेश गरेका छैनौं । 

बहालवाला सांसदलाई अघि सार्दा संसद्मा संख्या कम हुने र निर्वाचनमा पराजितलाई राष्ट्रपतिमा अगाडि सार्दा नकारात्मक सन्देश जाने तर्क पनि कांग्रेसमा छ । साथै गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माले पनि राष्ट्रपतिमा आकांक्षा राख्दै आएका छन् । ‘पार्टीमा राष्ट्रपतिको उम्मेदवारका रूपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सार्ने भन्ने छ । पछिल्लो समय नेता कृष्ण सिटौलाको नाम पनि आएको छ । साथै सभापति देउवालाई अघि बढाउँदा सबैको समर्थन प्राप्त हुने आवाज पनि पार्टीमा छ,’ ती पदाधिकारीले भने, ‘बहालवाला सांसद र निर्वाचनमा पराजितलाई राष्ट्रपतिमा अगाडि सार्न नहुने मत पनि छ ।’

निर्वाचन आयोगको कार्यतालिकाअनुसार १३ फागुनमा मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । जसका लागि २३ दिन मात्रको समय छ । कांग्रेसले ९ माघमा पहिलोपटक पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचनका कांग्रेसको स्ट्यान्डबारे छलफल सुरु गरेको थियो । बैठकमा राजनीतिक परिस्थितिका आधारमा उम्मेदवारी दिने रणनीति अपनाउने निर्णय भएको थियो । बैठकमा सहभागी एक पूर्वपदाधिकारीका अनुसार विभिन्न नाममा छलफल भएको थियो । सोही बैठकले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र अरू दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । यससँगै कांग्रेस नेता आन्तरिक गृहकार्यमा छन् । पछिल्लो समय टेलिफोन सम्पर्क र दोस्रो तहका नेतामार्फत गृहकार्य छ । त्यसयता कांग्रेसको औपचारिक बैठक बसेको छैन । 

महामन्त्री विश्वप्रकाश शर्माले सबै दलको अपनत्व महसुुस हुने व्यक्तिलाई कांग्रेसले राष्ट्रपतिमा अघि सार्ने बताए । कांग्रेसले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने उनको दाबी थियो । ‘पार्टीमा धेरैजना योग्य हुनुहुन्छ । नामबारे हामी पार्टीमा छलफल गर्छौँ । सबै दलको अपनत्व महसुुस हुने व्यक्तिलाई कांग्रेसले राष्ट्रपतिमा अघि सार्नेछ,’ मंगलबार महामन्त्री शर्माले भनेका थिए ।