Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पर्शुराम काफ्ले अयोध्या (भारत)
२०७९ माघ १८ बुधबार २२:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकीको देवशिला अयोध्यामा, ९ महिनापछि राममूर्ति बनाइने

Read Time : > 1 मिनेट
पर्शुराम काफ्ले, अयोध्या (भारत)
२०७९ माघ १८ बुधबार २२:०९:००

भारतमा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधाम कालीगण्डकीबाट ल्याइएका दुई देवशिला बुधबार अयोध्या पुर्याइएको छ । 

बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिरमा पूजा अर्चना र हवनपछि ट्रकमा राखेर दुई देवशिला अयोध्या पुर्याइएको हो । स्थानीयले बाटो–बाटोमा पुष्पवृष्टि गर्दै पूजा अर्चना गर्दा धेरै समय लागेकाले गोरखपुरबाट १३१ किलोमिटर दुरीमा रहेको अयोध्यासम्म शिला पुर्याउन ११ घण्टा लागेको थियो । 

अयोध्यावासीले नेपालबाट लगिएको शिलाको भव्य स्वागत गरेका छन् । ठूलो संख्यामा सर्वसाधारणको उपस्थितिसँगै स्थानीय प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । देवशिलाको दर्शन गर्न अयोध्यामा सर्वसाधारणको भिड  लागेको थियो । 

बिहीबार पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, जनकपुरस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दासलगायतले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलगायत पदाधिकारीलाई देवशिला हस्तान्तरण गर्ने कार्यक्रम छ । 

त्यसपछि अयोध्याको कारसेवकपुरममा कालिगढहरूले रामको बालस्वरूप मूर्ति तयार गर्ने ट्रस्टका सदस्य कामेश्वर चौपालले नयाँ पत्रिकालाई बताए । ट्रस्टका सदस्य राजेन्द्रसिंह पंकज, विश्वहिन्दु परिषद् नेपालका महासचिव जितेन्द्र सिंह म्याग्दीदेखि शिलायात्रामा सहभागी छन् ।

कांग्रेस नेता निधिले कालीगण्डकीको देवशिला अयोध्या पुगेसँगै नेपाल भारत सम्बन्ध नयाँ सांस्कृतिक उचाइमा पुगेको बताए । नेपालबाट देवशिला पठाउने  कार्यमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै शीर्ष नेताको सहयोगी भूमिका रहेको बताए । 

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले सन्तहरूको सल्लाहमा नेपालको कालीगण्डकीबाट देवशिला ल्याउने निर्णय भएको र नेपालले हार्दिकतापूर्वक सहयोग गरेको बताए । 

सीताभूमिबाट राममूर्तिका लागि शिला पठाउने घटनाको अनन्तकालका लागि रहने र नेपाल–भारत सम्बन्धमा यसको अद्वितीय महत्व रहने उनको भनाइ थियो । 

मिथिला परम्पराअनुसार शिलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडालगायतका कोसेलीसहितको पाहुर साथमा पठाइएको छ । धार्मिक विधिअनुसार कांग्रेसका नेता  निधि, उनकी पत्नी अनामिका निधिले गोरखपुरमा दुवै देवशीलाको पूजा गरेर अयोध्या पठाएका थिए । 

शिला बिदाई कार्यक्रममा गोरखनाथ मन्दिर प्रांगणमा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो । उत्तरप्रदेशका मुख्यमन्त्री आउने बताइए पनि संघीय बजेटका कारण उनी सहभागी हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् । 

शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज, हिन्दु स्वयंसेवक संघ, विश्वहिन्दू परिषद् नेपालका पदाधिकारी अयोध्या पुगेका छन् ।

राम जन्मभूमि ट्रस्टले राम मन्दिरको गर्भगृहमा राखिने सबैभन्दा पवित्र मूर्ति कालीगण्डकीको शिलाबाट बनाउनुपर्ने निस्कर्ष निकालेपछि नेपालसँग आग्रह भएको थियो । 

निधिलाई यसबारे पहल गर्न ट्रस्टका महासचिव चम्पत रायले आग्रह गरेका थिए । निधिले यसका लागि सरकारसँग पहल गरेका थिए । ३ पुसमा बसेको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले रामको प्रतिमा निर्माणका लागि प्रयोग गरिने शालिग्राम शिलाको खोजी गर्ने निर्णय गरेको थियो । 

शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकी शिला तय भएको थियो भने १ माघमा शिलामा क्षमा पूजा गरिएको थियो । 

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो । शिला २४ र १४ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका छन् ।