मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका विराटनगर
२o७९ माघ १६ सोमबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय बजारको किनमेलमा कडाइ गरेको भन्दै विराटनगर भन्सारमा प्रदर्शन

कर्मचारी भन्छन्– पारीका व्यापारीले विचौलियालाई उकासे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार १७:५७:oo

भारतीय बजारबाट किनमेल गरेर ल्याउन कडाइ गरेको भन्दै विराटनगर भन्सारको यात्रु शाखामा प्रदर्शन भएको छ। भन्सार राजस्वमा कमी आएको र भारतीय बजारमा किनमेल गर्ने संस्कृतिमा सुधार नआएको भन्दै विराटनगर भन्सारले कडाइ गर्न थालेपछि आक्रोशित युवाले सोमबार प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

भन्सार कार्यालयले सय रुपैयाँभन्दा बढीको समान भारतीय बजारबाट विनाराजस्व किनमेल गर्न नपाउने भन्दै लागू गरेको नियम व्यावहारिक भएको भन्दै ‘विराटनगर रानी नागरिक समाज’का युवाहरूले प्रदर्शन गरेका हुन्। सीमावर्ती जोगबनीलगायतका भारतीय बजारबाट सहज रूपमा उपभोग्य वस्तुहरू ल्याउन पाउनुपर्ने उनीहरूको माग छ।

भन्सार प्रशासनले खुला सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न नसकेको र भन्सारभित्र महँगो दस्तुर लगाएर मालवस्तु आयात गर्न दिएको तर सर्वसाधारणलाई भने भन्सार लक्ष्य नपुगेको भन्दै किनमेलमा समेत कडाइ गरेको प्रदर्शनकारीको आरोप छ।

तर, भन्सार कार्यालयले भने भारतीय बजारमा जथाभावी किनमेल गर्ने तर भन्सार नतिर्ने प्रणालीमा सुधार गर्न सय रुपैयाँभन्दा बढीको किनेमल गरे अनिवार्य भन्सार तिर्नुपर्ने नीति कार्यान्वयन गरेको जनाएको छ। भन्सारका सूचना अधिकारी पर्शुराम दाहालले भने, ‘भन्सार तिर्नुपर्ने नियम पालना गराएपछि जोगबनीका व्यापारीहरूले बिचौलियाहरूलाई उकासेका होलान्। तर, त्यसले केही फरक पर्दैन। नियमअनुसार सबैले भन्सार राजस्व तिर्नैपर्छ।’

यता विराटनगरका उद्योगी व्यापारीहरूले भने सरकारले वर्षौँदेखि हुँदै आएको चोरी तस्करी र सीमापार किनमेलमा कडाइ नगर्दा आफूहरू मारमा पर्दै आएको गुनासो गर्दै आएका छन्।