१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

७ कोठा, १२ कक्षा : भद्रगोल पठनपाठन

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५७:oo

सर्लाहीको कविलासी नगरपालिका– ४ हेमपुरस्थित जानकीदास जनता माध्यमिक विद्यालयको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ । भौतिक संरचनाको अभावमा बालबालिकाले कष्टपूर्ण ढंगले पठनपाठन गर्नुपरिरहेको गुनासो गरेका छन् ।

१२ कक्षासम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा मुस्किलले विद्यार्थी बस्न मिल्ने नाैवटा कक्षाकोठा मात्र छन् । त्यसमा पनि दुईवटा कोठा कार्यालय प्रयोजन र एउटा कम्प्युटर ल्याबका लागि छुट्याइएको छ । भौतिक संरचना अभावमा नाैवटा कोठामा १२ वटा कक्षा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सुरेश यादवले बताए । विद्यार्थीको चाप अत्यधिक हुँदा थप समस्या भएको उनको भनाइ छ ।

प्रधानाध्यापक यादवका अनुसार यस विद्यालयमा एक हजारभन्दा धेरै विद्यार्थी अध्यनरत छन् । कक्षा सातमा मात्र एक सय ६१ जना र कक्षा आठमा एक सय ७० जना अध्ययनरत छन् । ‘कोठा छैन, एक सय ४० जना विद्यार्थी एउटै कक्षामा राखेर पढाउने गरेका छौँ,’ प्रधानाध्यापक यादवले भने ।

यसरी धेरै विद्यार्थी एउटै कक्षामा राखेर पढाउँदा सकस भएको गुनासो विद्यार्थीले बारम्बार गर्ने गरेका शिक्षक–शिक्षिकाको भनाइ छ । तैपनि आफूहरूले केही गर्न सक्ने अवस्था नरहेको उनीहरूले बताए । कक्षाकोठा अभावको विषयमा पटकपटक नगरपालिकाको शिक्षा शाखा र जनप्रतिनिधिलाई जानकारी गराउँदासमेत कसैले वास्ता नगरेको प्रधानाध्यापक यादवको भनाइ छ ।

कोठा नभएपछि दुई सिफ्टमा पठनपाठन
भौतिक संरचना अभाव भएपछि विद्यालय प्रशासनले दुई सिफ्टमा पठनपाठन गराउँदै आएको छ । कक्षाकोठाको चरम अभाव भएपछि दुई सिफ्टमा पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक यादवले बताए । 

विद्यालयले हाल बालकक्षादेखि सात कक्षासम्मका बालबालिकालाई बिहान ६ बजेदेखि १० बजेसम्म पढाउने गरेको छ । बाँकी आठ कक्षादेखि १२ कक्षासम्मको पठनपाठन बिहान ११ देखि ४ः३० बजेसम्म हुने विद्यालय प्रशासनले जनाएको छ । यसरी दुई सिफ्टमा पठनपाठन गराउँदा शिक्षक–शिक्षिकाले समेत बिहान ६ बजेदेखि साँझ ४ः३० बजेसम्म काम गर्नुपरेको एक शिक्षकले बताए ।

‘बिहान पढ्न आउने बालबालिका प्रभावित बनेका छन् । सबेरै विद्यालय आउनुपर्दा धेरैले विद्यालय आउन छाडिसके,’ उनले भने, ‘चिसोको समयमा त झन् ८ बजे पछिमात्र उज्यालो हुन्छ । कसरी ६ बजेबाट कक्षा सुरु गर्नु ?’ यसरी पढाउँदा बालबालिकाको कक्षा समयसमेत घटेको छ । अन्य विद्यालयमा ४५ मिनेटको कक्षा समय भए पनि यस विद्यालयमा ३० मिनेटको मात्र कक्षा समय निर्धारण गरिएको छ ।

कक्षा थोरै भएपछि वर्षभरिमा पूरा कोर्स पढ्नसमेत नभ्याइने विद्यार्थीले गुनासो गरे । ‘नजानेको कुरासमेत कक्षामा राम्रोसँग छलफल गर्न पाइएको छैन,’ कक्षा सातमा अध्ययनरत रेखा साहले गुनासो गरिन् ।

पाँच वर्षकाे बजेट पाँच लाख मात्र
विद्यालयका लागि पछिल्लो पाँच वर्षमा वडा कार्यलयबाट पाँच लाख बजेट आएको विद्यालय प्रशासनले जनाएको छ । त्यसबाट विद्यालयमा एकतला पिल्लर र छत ढलान गरिएको छ । तर, त्यसमा थप संरचना तयार गर्न बजेट नपाएपछि त्यो पनि यसै अलपत्र परेको छ ।

निर्वाचित प्रतिनिधिले शिक्षा क्षेत्रको विषयमा खासै वास्ता नगरेको शिक्षक–शिक्षिकाले गुनासो गरेका छन् । यसरी अत्यन्त दयनीय अवस्थामा विद्यालय सञ्चालन भइरहँदा बालबालिकाको भविष्य अन्धकारतर्फ धकेलिने हो कि भन्ने स्थानीय रामपुकार मुखियाको चिन्ता छ ।

सुविधासम्पन्न शौचालय अलपत्र 
विद्यालयमा मधेस प्रदेश सरकारले ठूलो रकम खर्चेर बनाइदिएको सुविधासम्पन्न शौचालय छ । बाहिरबाट देख्दा निकै सुविधासम्पन्न देखिने शौचालयमा निर्माण कम्पनीले ताला लगाएर गएको दुई वर्ष बित्यो, विद्यार्थीले प्रयोग गर्न पाएका छैनन् ।

तर, शौचालय कुन कार्यक्रमअन्तर्गत निर्माण भएको भन्ने अत्तोपत्तो नभएको विद्यालय प्रशासनको प्रतिक्रिया छ । प्रदेश सांसद सञ्जय यादवले शिलान्यास गरेको देखेकोले प्रदेश सरकारको बजेटबाट निर्माण भएको हुन सक्ने शिक्षककाे अनुमान छ । निर्माणलगत्तै निर्माण कम्पनीले ताला मारेको विषय पनि थाहा नभएको उनीहरू बताउँछन् ।

यसरी सरकारी बजेट खर्च गरेर निर्माण गरेको संरचना प्रयोगमा नल्याउनु पनि एक किसिमको दुरुपयोग रहेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।

वडाध्यक्ष गिरधारी राय यादव भौतिक संरचना नभएको कारण विद्यार्थीलाई पठनपाठनमा समस्या भएको स्वीकार गर्छन् । विद्यालयमा आवश्यक सामग्री तथा संरचना नभएका कारण शैक्षिक वातावरणसमेत नरहेको विद्यार्थीले गुनासो राखेका थिए । विद्यालयमा शौचालय र खानेपानी अभाव हुँदा विद्यार्थी शौच गर्न घरमै पुग्ने गरेका छन् । विद्यालयमा महिनावारी हुँदा प्याडको उपलब्धता मात्रै होइन, प्याड फेर्न उपयुक्त शौचालयसमेत नरहेको छात्राको गुनासो छ । वडाध्यक्ष यादवले आफ्नो पाँचवर्षे कार्यकालमा विद्यालयको शिक्षाको अवस्था सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

ad
ad