मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १२ बिहीबार १४:१२:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कुमारी मोक्तान : बागमतीकी एक मात्र महिला मन्त्री

Read Time : > 1 मिनेट
२०७९ माघ १२ बिहीबार १४:१२:००

पुस २५ गते नियुक्ति लिएर २६ गते पद तथा गोपनीयताको शपथ लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ११ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले सत्तागठबन्धनका दलहरू एमाले, माओवादी केन्द्र र राप्रपाबाट गरी आठ नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

सत्तासाझेदार दलरुरूबीच एमाले र माओवादीले चार–चार तथा राप्रपाले तीन मन्त्रालय पाउने सहमति भएको थियो । सोहीअनुसार बुधबार एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाबाट दुई गरी थप आठ मन्त्रीहरूले शपथ लिएका हुन् ।

११ सदस्यीय प्रदेश मन्त्रिपरिषद् गठन हुँदा एकजना महिलाले मात्र मन्त्री बन्ने अवसर पाएकी छिन् । बुधबार पूर्णता पाएको प्रदेशको मन्त्रिपरिषदमा माओवादी केन्द्रकी तर्फबाट कुमारी मोक्तान एकजना मात्रै महिला मन्त्री बनेकी हुन् । उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

को हुन् कुमारी मोक्तान ?
१६ वर्षको उमेरमै जनयुद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथोपटक संसद्को यात्रा तय गरेकी हुन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी मोक्तानले एमालेका विष्णुप्रसाद ढकाललाई तीन सय २२ मतले पराजित गरेकी हुन् । कुल ४६ हजार एक सय सात मत खसेको यस क्षेत्रमा मोक्तानले १९ हजार आठ सय ७३ मत प्राप्त गरेकी थिइन् ।

तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गरेलगत्तै मोक्तान विद्यालय शिक्षा छाडेर जनयुद्धमा होमिएकी थिइन् । ०३६ सालमा जन्मिएकी मोक्तानले ०५० सालमा विद्यार्थीबाट राजनीतिक यात्रा सुरु गरिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा संगठित हुँदै पार्टीमा क्रियाशील रहँदा ०५६ सालमा तत्कालीन शाही नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान ०५८ मा रिहा भएकी थिइन्  ।

०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव भएकी मोक्तान ०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै ०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालीन जनसरकार प्रमुखसमेत बनेकी थिइन् । मोक्तान शान्ति सम्झौतापछि ०६३ सालमा विधायिका सदस्य मनोनीत भइन् ।

उनी ०६४ सालमा तत्कालीन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् भने ०७४ को प्रदेश सभा निर्वाचनमा पनि हालकै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । ०७८ मा राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा प्रदेश सरकारको सामाजिक विकासमन्त्री बनेकी मोक्तान यसपटक पनि शालिकराम जम्कट्टेलको मन्त्रिमण्डलमा सामाजिक विकासमन्त्रीकै रूपमा नियुक्त भएकी हुन् ।