मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १२ बिहीबार ११:२८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई निमोनियाबाट यसरी जोगाऔँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १२ बिहीबार ११:२८:००

जाडो मौसममा रुघाखोकी आमसमस्या हो । तर, साना बच्चामा देखिएको सामान्य रुघाखोकीलाई हेलचेक्र्याइँ गरेमा निमोनियासम्म हुने जोखिम हुन्छ । यस्तै जोखिम वृद्धवृद्धामा पनि रहन्छ । बालबालिका र वृद्धवृद्धामा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुने भएकाले निमोनिया हुने डर बढी भएको हो । 

डा. प्रकाशनिधि तिवारी, बालरोग विशेषज्ञ ईशान अस्पताल 

निमोनिया के हो ?
निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो, जुन प्रदूषित श्वासप्रश्वासका कारण हुने गर्छ । ब्याक्टेरिया र भाइरस सक्रिय हुँदा निमोनिया लाग्ने हो । निमोनियाले फोक्सो सुन्निनुका साथै श्वासप्रश्वासमा समेत बाधा पुर्‍याउँछ ।

वयस्क मानिसलाई रुघाखाकी लाग्नु सामान्य रूपमा लिन सकिए पनि बच्चाका लागि भने यो घातक हुन्छ । बालबालिकाको मृत्यु हुने रोगहरूमध्ये निमोनिया एक हो । जाडोयाममा यसको जोखिम अझै रहन्छ । किनकि, यस मौसममा पानी कम पर्ने भएकाले बढी प्रदूषण हुन्छ । र, धुलोधुवाँकै कारण रुघाखोकी लाग्ने सम्भावना बढ्छ ।

यो मौसममा बढी चिसो हुने भएकाले मानिसहरू बाहिर कम निस्कन्छन्, धेरैजना एकै ठाउँमा जम्मा भएर बस्छन् । बन्द कोठामा धेरैजना मानिस गुम्म भएर बस्दा बच्चामा छिटो रुघाखोकीको संक्रमण हुने गर्छ ।

सामान्यतया हात मिलाउँदा, सँगै बस्दा, खोक्दा, भिडभाडमा हिँड्दा रुघाखोकी सर्ने सम्भावना हुन्छ । यस्ता क्रियाकलाप गर्ने वयस्क मानिसको सम्पर्कबाट बच्चामा रुघाखोकी सर्छ । अन्ततः त्यो निमोनियासम्म पुग्न सक्छ । 

लक्षण
सामान्यतया रुघाखोकी तीन–चार दिनमै निको हुन्छ । यदि यो अवधिमा निको भएन भने निमोनिया हुन सक्ने जोखिम रहन्छ । अत्यधिक ज्वरो आउने, लामो समयसम्म रुघाखोकी लागिरहने भयो भने बच्चालाई निमोनिया भएछ भन्ने बुझ्नुपर्छ । यसवेला बच्चाले खान मन गर्दैनन् । कोखा हान्ने भएकाले रुन्छन् । 

नियन्त्रण गर्ने उपाय
- बच्चालाई दिने भनेर सरकारले निर्धारण गरेका प्रत्येक खोपको डोज पूरा गर्नुपर्छ । जसबाट रोगसँग लड्ने क्षमता बढ्छ । 
- आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । त्यसैले ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिक तत्वहरूसमेत खुवाउनुपर्छ । 
- ६ महिनासम्म कुनै पनि खानेकुरा नखुवाउने । आमाको दूध खान नपाएका बच्चा पछि बिरामी पर्छन् । 
- बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म संक्रमणबाट बचाउन सकिन्छ । 
- बच्चालाई सुरुको दूध नदिने चलन पनि छ । तर, सुरुको दूधमा झन् धेरै पौष्टिक तत्व हुन्छ । जन्मेको एक घन्टाभित्र आमाको दूध खुवाउनुपर्छ । दुई–तीन घन्टाको दूध खुवाउनुपर्छ ।
- बच्चा रहने ठाउँवरपरको प्रदूषण कम गर्नुपर्छ । यसमा आममानिससँगै सरकारको पनि ध्यान जान जरुरी छ । 
- बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ । त्यस्तै, भिडभाडबाट समेत बचाउन सके संक्रमणबाट बचाउन सकिन्छ । 
- बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ । ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस् । 
- बच्चाले छिटोछिटो श्वास फेरेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ लानुपर्छ ।