मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
न्युयोर्क
२०७९ माघ १२ बिहीबार ०९:४८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

‘च्याटजिपिटी’ले पास गर्‍यो अमेरिकाको ल स्कुल परीक्षा

Read Time : > 1 मिनेट
न्युयोर्क
२०७९ माघ १२ बिहीबार ०९:४८:००

इन्टरनेटमा मौजुद तथ्यांकद्वारा सञ्चालित एक च्याटबोटले संवैधानिक कानुनदेखि कर एवं सार्वजनिक अपराधसम्मका विषयमा सोधिएका विविध प्रश्नहरूको उत्तर लेखेर एक अमेरिकी कानुन स्कुलको परीक्षा नै उत्तीर्ण गरेको छ । च्याटजिपिटीको कौशल देखेपछि प्राध्यापकहरूले यसले शैक्षिक जगत्मा व्यापक धोकाधडी निम्त्याउन सक्ने र परम्परागत कक्षाशिक्षण विधिहरूलाई असान्दर्भिक बनाइदिन सक्ने आशंका गरेका छन् । 

मिनेस्वटा युनिभर्सिटी ल स्कुलका प्राध्यापक जोनाथन चोईका अनुसार च्याटजिपिटीलाई अन्य विद्यार्थीलाई दिइएकै प्रश्नपत्र दिइएको र त्यसमा ९५ वटा बहुछनोट प्रश्न र अरू १२ वटा निबन्धात्मक प्रश्नावली समावेश थिए । सोमबार सादा कागजमा ‘च्याटजिपिटी गोज टु ल स्कुल’ शीर्षकमा प्रकाशित रिजल्टमा प्राध्यापक चोई र उनका सहकर्मीले च्याटबोटले समग्रमा ‘सी’प्लस अंक प्राप्त गरेको उल्लेख गरेका छन् । यो अंक पास हुन पर्याप्त अंक हो । 

यो च्याटबोटको प्रदर्शन अधिकांश विषयमा औसत रहे पनि गणितसँग सम्बन्धित बहुछनोट प्रश्नहरूमा भने निकै उत्कृष्ट देखिएको थियो । ‘निबन्ध लेखनमा च्याटजिपिटीले आधारभूत कानुनी अवधारणामाथि बलियो समझ प्रदर्शन गर्‍यो । शब्द संगठन र संरचनामा पनि एकरूपता र कुशलता देखाएको छ,’ प्राध्यापकहरूले लेखेका छन्, ‘तर खुला प्रश्नमा भने समस्या पहिचान गर्न र रचनात्मक उत्तर दिनमा यो कमजोर नै देखिएको छ । यी कौशल नै ल स्कुल परीक्षाहरूमा मुख्य हुन्छन् ।’

न्युयोर्कलगायत अधिकारीहरूले विद्यालयमा च्याटजिपिटीको प्रयोग प्रतिबन्धित गरेका छन् । तर, चोई भने च्याटजिपिटी महत्वपूर्ण शिक्षण सहयोगी हुन सक्ने बताउँछन् । उनी ट्विटरमा लेख्छन्, ‘समग्रमा च्याटजिपिटी कानुनको उत्कृष्ट विद्यार्थी थिएन । तर, हामी आशावादी छौँ, च्याटजिपिटीजस्ता मोडेलको मानिससँगको सहकार्य विद्यार्थी तथा अभ्यासरत वकिलहरूका लागि निकै उपयोगी हुनेछ ।’ 

‘च्याटजिपिटीको उत्तरकापीमा एउटा कमी थियो र त्यो एकदमै उचित थियो । च्याटजिपिटीको व्याकरण एकदमै सही हुनुका साथै केही हदसम्म दोहोरिएको थियो,’ चोईले लेखेका छन् । अमेरिकी प्रविधि कम्पनी ओपनएआईले बनाएको च्याटजिपिटीले यसै हप्ता प्रविधि जायन्ट माइक्रोसफ्टबाट १० अर्ब अमेरिकी डलरको विशाल लगानी प्राप्त गरेको छ । यसले सोधिएका प्रश्नहरूमा कृत्रिम बौद्धिकता (एआई) को सहयोगले इन्टरनेटमा उपलब्ध तथ्यांकहरूको विवेचना गरी तत्कालै लिखित उत्तर दिन्छ ।