
लगातारको हिमपातले कर्णालीका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ । दुई दिनदेखि हवाई र सडक यातायातसहित सञ्चार सेवा प्रभावित भएको छ ।
मंगलबार रातिदेखि मुगुमा लगातार हिमपात भइरहेको छ । पर्यटकीयस्थल रारामा करिब दुई फिटसम्म हिउँ जमेको स्थानीयको भनाइ छ । हिमपातका कारण नेपालगन्ज र सुर्खेतबाट मुगु आउने हवाई तथा सडक यातायात अवरुद्ध भएका छन् । हिउँ खेल्न रारा आउने आन्तरिक तथा बाह्य पर्यटक पनि समस्यामा परेका छन् ।
अघिल्ला हिउँदहरूमा पुष पहिलो साताबाट हिमपात हुने भए पनि यो वर्ष एक महिनापछि मात्रै हिमपात सुरु भएको छ । हिमपात भएपछि कृषकहरू खुसी त छन्, तर दैनिक जीवन भने प्रभावित भएको छ ।