१७औैँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२३ यही फागुन ६ गते हुने भएको छ। पोखरामा हुने म्याराथनलाई भव्य र सभ्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति बनाएर काम अघि बढाएको छ।
‘स्वास्थ्यको लागि, पोखराको लागि’ भन्ने मूल नारासहित सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा म्याराथन हुन लागेको हो। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले यसै वर्ष मात्र म्याराथनको अन्तर्राष्ट्रिय छाता संगठन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेसेज (एआइएमएस)बाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
यसपालि म्याराथनलाई विशेष बनाउनका लागि म्याराथन र महिला हाफ म्याराथनका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने आयोजकले जनाएको छ। यसले धावकको दौड समय सटिक तरिकाले मापन गर्न मद्दत गर्नेछ।
म्याराथनको प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ। गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरिएको छ।
आयोजकका अनुसार अन्य विधाहरू महिला हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र-छात्रा, ह्विल चियर तथा दृष्टिविहिनतर्फका पुरस्कार राशिमा पनि वृद्धि गरिएको छ।