हिउँदका डेढ महिना देशभर सुक्खा
- हिउँ नदेखिँदा सुनसान बने पर्यटकीय गन्तव्य, हिमाली र उच्च पहाडी क्षेत्रमा अन्नबालीसहित जडीबुटी उत्पादनमा समेत असर
- नेपाललगायत दक्षिण एसियाली मुलुकमा हिउँदे वर्षा घट्दै जाने संयुक्त राष्ट्रसंघको प्रतिवेदन
- पश्चिममा बल्ल सामान्य हिमपात, मध्य र पूर्वमा अझै हुन सकेन
हिउँद यामको पहिलो डेढ महिना मुलुकभर सुक्खा भएको छ । अधिकांश ठाउँमा मंसिरयता वर्षा भएको छैन । मध्यहिउँदमा पुगिसक्दा एक–दुई ठाउँबाहेक हिमपात पनि हुन सकेको छैन । विगत वर्षहरूमा यतिवेला सेताम्ये देखिने हिमशृंखलाहरू माघ लागिसक्दा पनि कालापत्थरजस्तै बनेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदको तीन महिना (१५ मंसिरदेखि १५ फागुन)सम्म औसत ६०.९ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) वर्षा हुनुपर्ने हो । तर, हिउँदका डेढ महिना (१ माघसम्म) जम्मा ०.१ मिलिमिटर मात्र वर्षा भएको छ । जब कि यो डेढमहिने अवधिमा कम्तीमा पनि १७.१६ मिलिमिटर वर्षा भइसक्नुपर्थ्यो । गत वर्ष यो अवधिमा २७.१ मिलिमिटर वर्षा भइसकेको थियो भने हिउँदका तीन महिनामा ७४ मिलिमिटर वर्षा भएको थियो ।
‘पोस्ट मनसुनमा पनि खासै पानी परेन, हिउँद आधा कटिसक्दा पनि पानी पर्न सकेको छैन,’ विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्, ‘प्रशान्त महासागरमा देखिएको लानिनाले सामुद्रिक तापमान घटाइदिने भएकाले पानी पर्ने सम्भावना कम हुन्छ ।’
विभागका अनुसार मुलुकभर रहेका एक सय १६ वटा वर्षा मापन केन्द्रमध्ये ८२ वटाको मात्र तथ्यांक उपलब्ध भएको छ । तर, तीमध्ये १२ वटा स्टेसनमा मात्र वर्षा रेकर्ड भएको छ । हिउँदको डेढ महिनामा सबैभन्दा बढी कञ्चनपुरको महेन्द्रनगरमा तीन मिलिमिटर वर्षा मापन हुँदा बैतडीको पाटनमा १.२ मिलिमिटर वर्षा भएको छ । बाँकी १० केन्द्रमा एक मिलिमिटरभन्दा कम वर्षा भएको छ । कैलालीको अत्तरियामा ०.८, इलामको कन्याममा ०.५, नेपालगन्जमा ०.४, चापाकोटमा ०.३ र बैतडीको गोठालापानीमा ०.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यस्तै, वीरगन्ज, खाँदबारी, बाँकेको खजुरा, अछामको वलीगाउँ र ताप्लेजुङमा ०.०१ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको छ । त्यसबाहेकका केन्द्रमा वर्षा नै रेकर्ड भएको छैन ।
सामान्यतया एक मिलिमिटरभन्दा धेरैलाई मात्र वर्षा मानिन्छ । तीन मिलिमिटर वर्षा पनि निकै कम हो, पूरै जमिन पनि रुझाउँदैन । यसको अर्थ पछिल्ला डेढ महिनामा नेपालमा वर्षा नै भएको छैन । विभागले यसअघि नै हिउँदे याममा मुलुकका धेरैजसो स्थानमा वर्षा औसतभन्दा कम हुने र अधिकत तापक्रम पनि सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको थियो । हिउँदे वर्षाले कृषि उत्पादनमा सहयोग गर्छ, पानीका स्रोत पुनर्भरणमा पनि मद्दत गर्छ । पछिल्लो २४ घन्टामा डडेल्धुरामा ०.९ मिलिलिटर तथा अछाम, बैतडी र डोटीमा फाटफुटबाहेक अन्य क्षेत्रमा वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अधिक सुक्खा रहेका ६ हिउँद
प्रशान्त महासागरमा हिउँदअघि नै देखिएको लानिना अहिले पनि कायमै रहेकाले यो हिउँद सुक्खा नै बित्ने देखिन्छ । वर्षा भइहाले पनि न्यून नै हुने देखिन्छ । तर, पछिल्लो तथ्यांक हेर्दा सन् २००६ को हिउँद सबैभन्दा बढी सुक्खा रह्यो । सोही वर्ष ७.१ मिलिमिटर मात्र वर्षा भएको थियो भने २००९ मा ९.७ मिलिमिटर वर्षा मापन भएको थियो । त्यसअघि १९९९ मा १४.५, २०१८ मा १६.७ र २०१६ मा २०.८ मिलिमिटर वर्षा भएको थियो । ती वर्षका हिउँद अधिक सुक्खामा बितेका थिए । सन् २०२१ मा भने ७४ मिलिमिटर वर्षा भएको थियो, जुन औसतभन्दा बढी हो । तर, २०२० मा भने १५.४ मिलिमिटर वर्षा मात्र भएको थियो । २०१९ मा भने १४२ मिलिमिटर वर्षा मापन भएको थियो ।
पश्चिममा बल्ल हिमपात, मध्य र पूर्वमा अझै हुन सकेन
पश्चिम नेपालका हिमाली क्षेत्रमा माघमा आएर बल्ल हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीले डडेल्धुरासहितका क्षेत्रमा सामान्य वर्षा गराउँदा हुम्लामा शुक्रबार हल्का हिमपात भएको छ । तर, त्यहाँका पहाडी क्षेत्रमा अझै हिमपात हुन सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार कर्णालीदेखि पूर्वतिर हिमपात हुन सकेको छैन । ‘शुक्रबार राति मुस्ताङतिर हिमपात हुन सक्छ । तर, त्यसबाहेक क्षेत्रमा तत्काल हिमपातको सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘पश्चिम नेपालमा केही दिनदेखि न्यूनचापीय प्रणालीका कारण बदली, हल्का वर्षा, थोरै ठाउँमा हिमपात भए पनि यो प्रणाली कमजोर भइसकेको छ ।’ मंगलबारसम्म प्रवेश गर्ने अर्काे पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावबारे भने महाशाखाले प्रक्षेपण गरिसकेको छैन ।
उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिमदेखि र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मंसिरदेखि नै हिमपात हुने गर्छ । तर, माघ लागिसक्दा पनि हिमशृंखला कालापत्थरजस्तै बनेका छन् । उच्च हिमाली क्षेत्रमा भने फाटफुट हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नआउँदा यसपटक वर्षा र हिमपात हुन नसकेको हो ।
यस वर्ष पश्चिमी वायु सक्रिय नहुँदा वर्षा र हिमपात हुन नसकेको हो । पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व बहँदा जलवाष्पयुक्त हावा पनि सँगै ल्याउने गर्छ । जसले तराई र पहाडमा वर्षा गराउँछ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात गराउँछ । तर, यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको खासै प्रवेश भएको छैन, आएको प्रणाली पनि निकै कमजोर अर्थात् जलवाष्पविहीन रहँदा पानी पर्न नसकेको हो । मौसमविद् अधिकारीका अनुसार हिमपात बढी हुने समय जनवरीसम्म हो । त्यसपछि तापक्रम पनि बढ्दै जाने हुन्छ । गत वर्ष पनि ढिलो गरी मात्र हिमपात भएको थियो भने उत्तरार्धमा पश्चिमी क्षेत्रका खोलामा बाढी नै आउने गरी वर्षा भएको थियो ।
नेपाललगायत दक्षिण एसियाली मुलुकमा हिउँदे वर्षा घट्दै जाने संयुक्त राष्ट्रसंघको प्रतिवेदन
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)को गत वर्षको प्रतिवेदनअनुसार नेपाललगायत दक्षिण एसियाली मुलुकमा भविष्यमा हिउँदे वर्षा घट्दै जानेछ । एसियाली देशमा अतिवृष्टिका अतिरिक्त अनावृष्टि (खडेरी) हुने दरसमेत बढेको छ । यसअघि १० वर्षमा हुने खडेरी पाँच वा ६ वर्षमै भइरहेको छ । यसको अर्थ खडेरी हुने दर १.७ गुणाले र अतिवृष्टि १.३ गुणाले बढेको देखिन्छ ।
तापमान वृद्धिका कारण हिन्द–कुश र हिमालय क्षेत्रमा हिउँ पग्लिने तथा हिमताल फुट्ने सम्भावना बढेको पनि प्रतिवेदनमा उल्लेख छ । योसँगै दक्षिण एसियामा हिमपात कम हुने र वर्षा (मनसुनमा) धेरै हुने पनि अध्ययनले देखाएको छ । नासाले गरेको विश्लेषणअनुसार पछिल्ला वर्ष गर्मी बढिरहेको छ । ग्रिनहाउस ग्यासको मात्रा लगातार बढिरहँदा तापमान पनि बढिरहेको हो ।
सन् २०२२ मा पृथ्वीको सतहको औसत तापक्रम सन् २०१५ को रेकर्डको पाँचौँ गर्मी तापमापनसँग जोडिएको छ । सन् २०२२ मा औसत तापक्रम (१९५१–१९८० को बेसलाइनमा) ०.८९ डिग्री सेल्सियस बढी थियो । सन् १८८० मा तापक्रमको आधुनिक रेडर्क राख्न थालेयता पछिल्ला नौ वर्ष सबैभन्दा गर्मी वर्ष बनेका छन् । यसको मतलब २०२२ मा पृथ्वी १९औँ शताब्दीको अन्त्यको औसत १.११ डिग्री गर्मी थियो ।
एक दशकदेखि ट्रेकिङ गाइड गरिरहेका सोलुखुम्बुका नवीन मगर भन्छन्–यस्ता नांगा हिमाल अहिलेसम्म देखेको थिइनँ
यस्तो नांगो हिमाल (ताबुचे) अहिलेसम्म देखेको थिइनँ । एक दशकदेखि ट्रेकिङ गाइडका रूपमा बेसक्याम्प पुग्ने गरेको छु ।
अघिल्ला वर्षमा यो सिजनमा बेसक्याम्प पुग्न निकै कठिन हुने गरेको थियो ।
बाटोमा दुई–तीन फिटसम्म हिउँ जम्ने गरेकाले हिँड्न मुस्किल पर्थ्यो । बेसक्याम्पमा पनि बाक्लो हिउँ परिसकेको हुन्थ्यो, तर यसपालि हिउँ परेको छैन ।
१२ जना अमेरिकन नागरिकको टोलीसँग केही समयअघि बेसक्याम्प पुगेको थिएँ । हिउँ नपरेकाले सहजै बेसक्याम्प पुग्न सकियो । बाटोमा मात्र होइन, हिमालमा पनि हिउँ छैन
नेपालमा हिउँदे वर्षा गराउने प्रणाली नै कमजोर रह्यो
डा. इन्दिरा कँडेल, वरिष्ठ मौसमविद् जल तथा मौसम विज्ञान विभाग
प्रशान्त महासागर र हिन्द महासागरको तापक्रमसँगै अन्य सामुद्रिक प्रणाली र वायुमण्डलीय प्रणालीका स्पष्ट असर मनसुनी वर्षामा हुन्छ । तर, हिउँदे वर्षामा महासागरको तापक्रम र सामुद्रिक प्रणालीको दैनिक असर नदेखिए पनि कुनै न कुनै प्रभाव भने रहन्छ । हिउँदमा वर्षा गराउने प्रणाली पश्चिमी न्यूनचापीय प्रणाली हो, तर केही दिनअघि आएको प्रणाली पनि कमजोर थियो । वर्षा गराउन सकेन ।
महासागरमा लालिनाको अवस्था रहेमा हिउँद याममा पश्चिमी न्यूनचापीय प्रणाली कम सक्रिय हुन्छ र यसले वर्षा पनि कम गराउँछ । लालिनाको अवस्थामा हिउँदमा प्रशान्त महासागरको तापक्रम कम हुन्छ, चिसो हुन्छ । लालिना मनसुनमा भएको भए नेपालमा बढी वर्षा हुन्थ्यो । तर, हिउँदमा कम वर्षा गराउँछ । अहिले लालिना ‘एन्सो’को अवस्थामा छ भन्नुको अर्थ पूर्वी प्रशान्त महासागरको भूमध्यीय रेखाको तापक्रम सरदरभन्दा कम छ भन्ने हो ।
हिउँदमा पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी क्षेत्रबाट नेपाल प्रवेश गर्छ, माथिल्लो तहबाट पनि जलवास्पयुक्त हावा आउने हुन्छ । अरबसागरबाट पनि ल्याएको वास्पयुक्त हावाले बदली गराउनुका साथै वर्षा गराउने हुन्छ । तर, लालिनाले यो प्रणालीको सर्कुलेसनलाई उल्टा गरिदिन्छ, हाम्रोतिर हुने वर्षा अन्यत्र डाइभर्ट भइदिन्छ ।
हिमपात पनि वर्षासँग जोडिएको छ । हिउँदे यामको प्रक्षेपण गर्दा हामीले तापक्रम औसतभन्दा बढी हुने र वर्षा कम हुने भनेका थियौँ । तर, अब के हुन्छ भनेर अहिले नै भन्न सकिँदैन । हामीसँग भएको प्रविधिले तीन दिन, एक साता र सिजनल प्रक्षेपण मात्र गर्छ । अब एक महिनामा के हुन्छ भनेर प्रविधि राखिसकेका छैनौँ, सिजनल प्रक्षेपण पनि सन् २०२० बाट मात्र सुरु भएको हो । खडेरी हुँदा कृषि उत्पादन कम हुने र पानीका मुहान सुक्ने हुन्छ ।