मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवीन अर्याल काठमाडाैं
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ ७ शनिबार ०६:०४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाली उडानलाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा ठूलो धक्का

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ ७ शनिबार ०६:०४:००

यतीको जहाज दुर्घटनाले इयूको एयर सेफ्टी कमिटीको ‘स्थलगत मूल्यांकन’ भ्रमण तत्काललाई स्थगित

यती एयरलाइन्सको जहाज दुर्घटनापछि युरोपेली युनियन (इयू)को टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत मूल्यांकन तत्कालका लागि स्थगित गरेको छ । दशकदेखि नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीमा राख्दै आएको इयूको एयर सेफ्टी कमिटी फेबु्रअरीमा एयर सेफ्टी अडिट गर्न आउने तय भएको थियो । तर, ७२ जनाको ज्यान जाने गरी १ माघमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि इयूको स्थलगत मूल्यांकन टोलीले भ्रमण रोकेको हो ।

फेब्रुअरीमा हुने भनिएको स्थलगत मूल्यांकनपछि इयूले नेपाललाई कालोसूचीबाट हटाउने अपेक्षा थियो । तर, आन्तरिक उडानमा भएको अहिलेसम्मकै ठूलो दुर्घटनाले नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा धक्का लागेको छ । पछिल्लो जहाज दुर्घटनाले इयू टोलीको नेपाल भ्रमण अनिश्चित बनेको छ । 

ठूलो मानवीय क्षति भएको हवाई दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)कै आग्रहमा इयूले स्थलगत मूल्यांकन भ्रमण सार्ने निर्णय गरेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डोप्रेजले संयुक्त विज्ञप्ति जारी गरी स्थलगत मूल्यांकन तत्कालका लागि रोकेको जनाएका छन् । 

अहिले इयूको टोली आएर सेफ्टी अडिट गर्दा कुनै उपलब्धि नहुने ठहर गरेर क्यानले भ्रमण सार्ने निर्णय गरेको हो । अहिले क्यानको ठूलो टोली नै जहाज दुर्घटना छानबिन अयोगको काममा खटिनुपर्ने भएकाले पनि इयूको भ्रमण सार्न आग्रह गरेको क्यानका महानिर्देशक अधिकारीले बताए । ‘नेपालमा यति ठूलो हवाई दुर्घटना भएको छ, यसले हाम्रो उडान असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह भयो, जुन दुःखद हो,’ उनले भने, ‘यस्तो माहोलमा इयूको टोलीलाई बोलाएर कुनै उपलब्धि हुँदैन ।’ 

अहिले क्यानको पहिलो प्राथमिकता दुर्घटनापछिको अवस्था रहेकाले तत्काललाई अनसाइट मूल्यांकन भ्रमण स्थगित गर्नु नै हितमा रहने दुवै पक्षको निष्कर्ष छ । नेपालमा हवाई सुरक्षा अवस्था सुधार गर्न क्यानको प्रयासमा युरोपेली युनियनले सहयोग गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘जहाज दुर्घटनाको छानबिन प्रतिवेदन आउँछ, सो प्रतिवेदनले औँल्याएको कमी–कमजोरी सुधारमा काम गर्छौँ, आवश्यक तयारीपछि अडिटमा बोलाउँदा ठीक होला,’ क्यानका महानिर्देशक अधिकारीले भने । 

इयूको टोलीले नेपालको हवाई सुरक्षामा गरिएका कामको स्थलगत मूल्यांकन गर्ने तयारी थियो । यसअघि अक्टोबर २०२२ मा आएको इयूकै टोलीले उड्डयन सुरक्षाबारे अध्ययन गरेर नेपालले उडान सुरक्षामा उल्लेख्य प्रगति गरेको निष्कर्ष निकालेको थियो । हवाई सुरक्षामा इयू सकारात्मक भएपछि क्यान उत्साही बनेको थियो । ‘देश इयूको कालोसूचीबाट हट्नै लागेको वेलामा ठूलो हवाई दुर्घटना भएको छ,’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘फेरि पनि इयूलाई आश्वस्त पार्ने गरी हवाई सुरक्षामा काम गर्नेछौँ । १५ जेठमा तारा एयरको जहाज दुर्घटना हुँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सुरक्षा नम्बर घटाउँछ कि भन्ने डर थियो, तर हामीले हवाई सुरक्षामा गर्नुपर्ने सुधारका कामहरू गरेकै कारण राम्रो अंक पायौँ ।’ 

आइकाओको पछिल्लो अनसाइट अडिटमा नेपालले ७०.१ अंक प्राप्त गरेको छ, जुन आइकाओले तोकेको विश्वव्यापी र एसिया प्यासिफिक क्षेत्रको औसत परिपालना दरभन्दा धेरै हो । हाल युरोपेली आकाशमा नेपाली जहाजमाथि प्रतिबन्ध छ । नेपालमा दर्ता भएका जहाजले त्यहाँको आकाशमा उडान भर्न पाउँदैनन् । युरोपमा उडान भर्न नपाउँदा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको व्यापारमा ठूलो असर परेको छ । कुनै समय युरोपका विभिन्न देशमा उडेर पर्यटक बोक्ने गरेको नेपाल एयरलाइन्सले कालोसूचीकै कारण युरोपेली देशमा उड्न पाएको छैन । 

युरोपेली मुलुकमा नेपाली उडानलाई अनुमति दिने उद्देश्यसहित इयूको एयर सेफ्टी कमिटीको टोली २०१३ मा काठमाडौं आएर उडान सुरक्षाबारे अध्ययन गरेको थियो । उडानमा लापरबाही र प्राधिकरणको कामकारबाही हवाई सेफ्टीको हिसाबले उपयुक्त नभएको ठहर गर्दै टोली नेपाली उडानलाई युरोपमा प्रवेश नदिने गरी कालोसूचीमा राख्ने गरी फर्किएको थियो । त्यसयता भने नेपालको उडानबारे अध्ययन गर्न इयुएचएको टोली नेपाल आएको छैन । 

कालोसूचीमा राखेको १० वर्ष बितिसक्दा पनि इयूले नेपाली उडानलाई कालोसूचीबाट हटाएको छैन । यसको मुख्य कारण नेपाल नागरिक उड्डयन प्राधिकरण नसच्चिनु रहेको जानकार बताउ“छन् । प्राधिकरणले दश वर्षको अन्तरालमा कालोसूचीबाट हटाउन भन्दै आफूले गरेका सुधारसहित इयुएचएलाई तीनपटक पत्र पठाएको छ । सन् २०१६ मा प्राधिकरणका कर्मचारी बेल्जियममै पुगे पनि कालोसूचीको विषयमा पर्याप्त छलफल गर्न इयुएचएको टोली तयार नभएपछि फर्किएका थिए । त्यसवेला गल्ती कार्यहरूको प्रमाण पेस गर्न नसकेपछि इयुएचए संस्थाले कालोसूचीबाट हटाउन मानेको थिएन । 

नेपाल एयरलाइन्सका पूर्वपाइलट युवराजकुमार भट्टराईले सरकारकै कमजोरीले लामो समयसम्म नेपाली उडानलाई युनियनले कालोसूचीमा राखेको बताए । तर, अब त झन् कालोसूचीबाट हट्नै नसक्ने उनको दाबी छ । ‘यति लामो समयसम्म कुनै पनि देशलाई युनियनले कालोसूचीमा राख्दैन, तर नेपाललाई राखेको छ, किनकि नेपालमा हवाई दुर्घटना हुँदा विदेशीको पनि ज्यान गएको छ,’ उनले भने, ‘पोखरामा भएको दुर्घटनाले विश्वलाई नै तर्साएको छ, यसले इयुएचएले कालोसूचीबाट हटाउन कठिन देखिन्छ । कालोसूचीमा राख्दा युरोप क्षेत्रमा नेपाली उडानको छवि धमिलिएको मात्रै छैन, पर्यटक पनि कम आइरहेका छन् ।’

संसारभरका उडानसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले हवाई उडानहरू आठवटा मापदण्डभित्र रहनुपर्ने प्रावधान गरेको छ । जसमा पाइलटको योग्यता, जहाजको क्षमता र अवस्था, सेफ्टी सेक्युरिटी, उडान क्षेत्रलगायत प्रावधान छन् । तर, नेपाली उडान हवाई सेफ्टीमा निकै असुरक्षित मानिएपछि संसारभर नै प्रश्न उठ्ने गरेको छ । 

युरोपेली युनियनले पनि आफ्नै किसिमको मापदण्ड तयार पारेको छ । जसमा सेफ्टी मापदण्डस्तर ६० भन्दा माथि हुनुपर्छ । युनियनले योभन्दा मापदण्ड कम देख्यो भने त्यो उडानलाई असुरक्षित मान्छ । सन् २०१३ मा पनि सेफ्टी मापदण्डभित्र नपरेपछि युनियनले नेपाली उडानलाई कालोसूचीमा राखेको थियो । 

हाल २८ वटा देशले नेपाली उडानलाई असुरक्षित मानेका छन् । कालोसूचीबाट हट्यो भने निगमका जहाज युरोपमा प्रवेश पाउँछन् । त्यसले नेपालमा पर्यटक तान्न सहज हुन्छ । तर, निगमले युनियनलाई यो–यो क्षेत्रमा यो–यो सुधार गरेका छौँ भनेर प्रमाण पेस गर्नुपर्छ । 

पछिल्लो हवाई दुर्घटनाले इयूको कालोसूचीबाट हट्न थप धक्का पुगेको क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले बताए । इयूले नेपाललाई कालोसूचीमा राख्नुको मुख्य कारण नै हवाई दुर्घटनालाई बनाएको छ । 

पूर्वमहानिर्देशक गौतमले आफ्नो कार्यकालमा इयूले उठाएका अधिकांश प्रश्नको जवाफ पठाएको र सुधारका कामहरू गरे पनि कालोसूचीबाट हट्न नसकेको दाबी गरे । ‘पहल पहिलेदेखि नै भएको हो, २०१६ र २०१७ मा पनि सबै प्रतिवेदन पठाइएको हो, तर युनियनले जहाजको नियमनकारी निकायको भूमिका र सेवा–सुविधामा प्रश्न उठाइरहेको छ, यसमा हामीले सुधार गर्न जरुरी देखिन्छ,’ उनले भने । नियामक र व्यवस्थापक एउटै निकाय हुँदा हवाई दुर्घटना बढेको र न्यूनीकरणमा उल्लेख्य काम हुन नसकेको इयूको जिकिर छ ।

उनका अनुसार तत्कालीन समयमा भन्दा पछिल्लो समय जहाज दुर्घटना दर कम भएको छ । अडिट रिपोर्ट पनि सच्चिएको छ । प्राधिकरणले पाइलटहरूको लाइसेन्स र प्रमाणपत्रसमेत चेकजाँच र अद्यावधिक गरेको उनको भनाइ छ । त्यसो त युरोप क्षेत्रमा नेपाली जहाजले उडान नपाए पनि टर्किस एयरको जहाजले भने काठमाडौंमा उडान भर्छ । हाल युरोपबाट आउने सोही जहाजमा ओहोरदोहोर गर्छन् ।

प्राधिकरणका अनुसार हाल नेपाली जहाजले चीन, जापान, हङकङ, युएई, कतार, भारत र थाइल्यान्डमा मात्रै सीधा उडान भर्न सक्छन् । यसबाहेक अन्य मुलुकमा उडानको अनुमति नभएको प्राधिकरणले जनाएको छ 

यी कारणले राखेको थियो कालोसूचीमा
त्यतिवेला नागरिक उड्डयन प्राधिकरणको अडिट रिपोर्ट सही नभएको, आइकाओको मापदण्ड परिपालना नगरेको, उडानमा लापरबाही गरेको, प्राधिकरणले हवाई सेफ्टी जाँच समयमै नगरेको, निगमको नियमनकारी निकाय जिम्मेवार नभएको, पाइलटको लाइसेन्स र योग्यताका प्रमाणपत्र अद्यावधिक नगरेको, पहाडी क्षेत्रमा हवाईजहाज र हेलिकोप्टर बढी दुर्घटना हुने गरेको, निगमको योजना र कार्य–प्रगति सन्तोषजनक र अडिटसमेत नभएको, सेवाप्रवाहमा चुस्तता नभएकोजस्ता १७ वटा बुँदामा युनियनले प्रश्न उठाएको थियो । 

कालोसूचीबाट हट्न दश वर्षमा नेपालले के–के गर्‍यो ?
आइकाओको अडिटमा ७०.१ अंक पाएको छ । प्राधिकरणले पाइटलहरूको लाइसेन्स र प्रमाणीकरण युरोपियन स्ट्यान्डर्डमा लिन थालेको छ । इयुएचएको हवाई सुरक्षाका सिन्द्धात पालना गरेको र जहाजको दर्ता प्रक्रिया सच्याएको छ । 

कालोसूचीमा हुँदा–नहुँदा के फरक पर्छ ?
युरोप क्षेत्रमा नेपाली जहाजको उडान निषेध छ । अन्तर्राष्ट्रिय जगत्मा हवाई सेफ्टी नभएको सन्देश प्रवाह भएको छ, अन्तर्राष्ट्रिय छवि कमजोर बनेको छ । साथै, पर्यटकको संख्यामा कमी आएको छ । कालोसूचीबाट हट्दा नेपाली जहाजले युरोप क्षेत्रमा पनि नियमित उडान गर्न पाउँछन् । युरोपेली पर्यटक तान्न सजिलो हुन्छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको उडान छविमाथि प्रश्न उठ्दैन ।