
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु. ४५ र फापरको प्रतिकेजी रु. ८० निर्धारण गरेको हो । गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा लागेकाले किसानले पनि रैथाने बालीको उत्पादनमा जोड दिएको जनाएको छ ।
गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवाखाजाका रूपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथाने बालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिनेछ ।
गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।