
एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा आइतबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ५३ रनले पराजित गरेको छ । साबिक विजेता एपिएफले समूह ‘ए’मा दुई खेलबाट चार अंक जोडेको छ । बागमतीको यो लगातार दोस्रो हार हो ।
एपिएफले प्रस्तुत गरेको एक सय ३७ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा नौ विकेट गुमाउँदै ८३ रन मात्र बनायो । बागमतीका लागि हेलिसा गुरुङले सर्वाधिक २२ रन बनाइन् । एपिएफकी निशा भट्टले सर्वाधिक तीन विकेट लिइन् । यसअघि पहिलो ब्याटिङ गरेको एपिएफले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । एपिएफकी इन्दु बर्माले सर्वाधिक ३८ रन बनाइन् ।
अर्को खेलमा कर्णाली प्रदेशलाई आठ विकेटले हराउँदै मधेस प्रदेशले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै समूह ‘बी’मा मधेसले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णालीले लगातार दोस्रो हार सामना गर्यो । कर्णालीले प्रस्तुत गरेको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । मधेसकी अनुराधा चौधरीले अविजित ३८ रन बनाइन् । मधेसकी बलर भूमि सिंहले चार ओभरमा १९ रन खर्चिंदै कर्णालीका चार खेलाडीलाई आउट पारिन् । कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो ।