
प्रदेश १ सरकारका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । २४ पुसमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले शुक्रबार दिउँसो प्रदेश सभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
एमालेबाट निर्वाचित उनले सत्तागठबन्धनमा सहभागी चार दलका ६० सांसदमध्ये सभामुखबाहेक ५९ मत प्राप्त गरेका छन् । उनको विपक्षमा कांग्रेस र एकीकृत समाजवादीका ३२ सांसदले मतदान गरे ।
सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीको पक्षमा बहुमतमा मतदान भएकाले विश्वासको मत प्राप्त गर्न सफल भएको घोषणा गरे ।
प्रदेश संरचना बलियो बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
मुख्यमन्त्री कार्कीले संविधानअनुसार संघीय संरचनालाई दिगो रूपमा स्थापित गराउने कार्य आफ्नो मुख्य जिम्मेवारी हुने बताएका छन् । आज संसदमा विश्वासको मत लिने क्रममा उनले सरकारलाई दिगो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
आफू पहिलो कार्यकालमा पनि मन्त्री बनेको र पाँच वर्षमा धेरै कष्ट सहेर सबैले काम गरेको बताउँदै उनले आफ्नो नेतृत्वमा प्रदेश संरचनालाई दिगो र पारदर्शी बनाउन लागिपर्ने प्रतिबद्धता गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको विकासका लागि अघिल्लो सरकारले थालेको कामलाई निरन्तरता दिने वचन दोहोर्याए।