मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Thursday, 19 December, 2024
राफेइल एल लोरिस
२o७९ पौष २७ बुधबार o७:५४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ब्राजिलमा लोकतन्त्रमाथि हमला

Read Time : > 2 मिनेट
राफेइल एल लोरिस
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार o७:५४:oo

हालैको चुनावी नतिजापछि ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका हजाराैँ उग्रदक्षिणपन्थी समर्थकले यही ८ जनवरीका दिन संसद् भवनमा आक्रमण गरे । उसो त संसद्माथिको हमलाका बखत बोल्सोनारो राजधानी ब्रासिलियामा नभई अमेरिकाको फ्लोरिडामा थिए/छन्, तर यस हमलापछाडि उनकै हात छ भन्नेमा म विश्वस्त छु । जब बोल्सोनारो सत्तामा थिए, उनले संसद् र सर्वोच्च अदालतजस्ता राजनीतिक संस्थामा अविश्वासको माहोल बनाउन प्रोत्साहन गरेका थिए र आइतबारको भिडले संसद् र सर्वोच्च अदालतलाई नै तारो बनाएको थियो ।

आइतबारका घटनामा अरू पनि संलग्न थिए । राजधानी ब्रासिलियामा विरोध प्रदर्शन हप्तौँदेखि चलिरहेको थियो र यी प्रदर्शनमा बोल्सोनारोनिकट जमिनदार र व्यापारीको लगानी थियो । यसबाहेक आइतबारको घटनामा सेनाको पनि भूमिका छ । सेनाका उच्च अधिकारीले पहिल्यैदेखि बोल्सोनारोको उग्र–दक्षिणपन्थी एजेन्डाप्रति समर्थन जनाउँदै आएका थिए र हालैका दिनका सत्ता हत्याउने नियतले गरिएका प्रदर्शनमा पनि समर्थन गरेका थिए । मुलुकका मुख्य राजनीतिक संस्थामा आक्रमण हुँदा कि सुरक्षा संयन्त्र अत्यन्त लापर्बाह थियो वा ती पनि आक्रमणमा संलग्न थिए कि ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।  

उसो त सडक सुरक्षा सेनाको जिम्मेवारी होइन । तर, बोल्सानारोको एजेन्डामा सेनाको निरन्तर समर्थनका कारण ब्रासिलियामा सुरक्षा जिम्मेवारी पाएको सैन्य प्रहरीमा राजनीतिक संस्थामा हमला गर्नेप्रति सहानुभूति राख्ने मनोबल मिलेको हो । बोल्सोनारोका समर्थकले लुलाको विजयपछि चुनावमा धाँधली (यसको प्रमाण छैन) भएको भन्दै सत्तामा सैन्य हस्तक्षेपको माग गरिरहेका थिए । यी बोल्सोनारो समर्थक प्रदर्शनकारी वरिष्ठ सैन्य अधिकारीले लुलालाई अपदस्थ गर्ने प्रयासमा मद्दत गर्नेछन् भन्नेमा आशावादी थिए किनभने सेनाका ब्यारेकनजिक स्थापना गरिएका विरोध शिविरप्रति सेनाले सहानुभूति देखाएको थियो ।

ब्राजिलमा सेनाले जननिर्वाचित सरकारलाई अस्वीकार गर्ने प्रवृत्तिको लामो इतिहास छ । पछिल्लो सैन्य कु सन् १९६४ मा भएको थियो । तर, अहिले परिस्थिति त्यतिखेरको जस्तो छैन अर्थात् शीतयुद्धको समयमा भएको सैन्य कुलाई अमेरिकालगायत बाह्य सरकारले समर्थन गरेका थिए । बोल्सोनारोले ब्राजिलियन सेनाका उच्च अधिकारीलाई सरकारी नियुक्ति दिएर सेनासँग नजिकको सम्बन्ध निर्माण गरेका थिए ।

बोल्सोनारोको दक्षिणपन्थी प्रवृत्तिका अलावा सेनामा विद्यमान अलोकतान्त्रिक प्रवृत्तिको सम्बोधन गर्नु नवनिर्वाचित राष्ट्रपति लुलाको मुख्य चुनौती हुनेछ

सेनाका दक्षिणपन्थी जनरल रक्षामन्त्री भए, राज्यका प्रमुख भए र हुँदाहुँदा कोभिड–१९ महामारी संकटका वेला स्वास्थ्यमन्त्रीसमेत भए । पछिल्ला आठ वर्षमा करिब ६ हजार क्रियाशील सेनाका अधिकारीलाई गैरसैन्य काममा खटाइयो । वायुसेनाका केही जनरलले खुलेरै बोल्सोनारो समर्थकको प्रदर्शनमा हिस्सा लिए । चुनावपछि सेनाका जनरलले सत्तामा हस्तक्षेप गर्नु वैधानिक हो भन्दै आएका थिए । यस अर्थमा आइतबार जे भयो, त्यसमा सेनाको संलग्नता थियो भन्नु अतिशयोक्ति होइन । तर, जब यो मामिला साँच्चै पेचिलो बन्यो, तब सेना मौन बनेको छ । सेनाले विरोधलाई प्रोत्साहन गरेको हुन सक्छ, तर सामान्यतया कुमा देखिने सडकमा सेनाका बख्तरबन्द ट्यांक देखिएनन् । 

८ जनवरीमा केही भवनभित्र विनाश हुने स्तरका घटना हुँदै गर्दा प्रदर्शन हिंस्रक भएको र नियन्त्रणबाहिर गएको प्रस्टै देखिन्छ । वास्तवमा आइतबारको योजना बनाउन हप्तौँ लाग्यो र बोल्सोनारोका समर्थकलाई राजधानी ओसार्न सयौँ बस खरिद गर्न लगानी गरिएको थियो । यसक्रममा धेरै प्रदर्शनकारीले सैन्य हस्तक्षेप होस भन्ने चाहेका थिए । तसर्थ आइतबारको घटनालाई म ‘कु’को प्रयास मान्छु । ब्राजिल अहिले संक्रमणमा छ । बोल्सोनारो सरकारका दौरान राजनीतिक संस्थामा राष्ट्रपतिको व्यक्तिगत आक्रमण र भ्रष्टाचार प्रकरणले ब्राजिलको लोकतन्त्र निश्चय नै पीडामा परेको हो ।

लोकतन्त्रमाथि धाबा बोलेको भए पनि ब्राजिलका करिब आधा मतदाताले बोल्सोनारोलाई समर्थन गरेका थिए । यद्यपि लुलाको विजयले बोल्सोनारोको लोकतन्त्रमाथिको धाबा बोलाइको चार वर्षपछि मुलुकमा जनताले लोकतान्त्रिक संस्थाको पुनर्निर्माण गर्ने आकांक्षा राखेको देखिन्छ । यस अर्थमा लुलाको कार्यकाल परिवर्तनको बिन्दु हो । ब्राजिलका मिडियाले पनि आइतबारको घटनाको भत्र्सना गरेका छन् । आउँदा दिन वा सातामा अनुसन्धान हुनेछ र केही हदसम्म जवाफदेहिता खोजिनेछ भनेर आशा गर्न सकिन्छ । वास्तवमा सेनामा विद्यमान अलोकतान्त्रिक प्रवृत्तिको सम्बोधन गर्नु नवनिर्वाचित राष्ट्रपति लुलाको मुख्य चुनौती हुनेछ । 

ट्रम्पवाद र बोल्सोनारोवाद दुवैमा चुनावमा धाँधली भएको भन्ने दाबी देख्न सकिन्छ र दुवै दक्षिणपन्थलाई मान्छन् । अर्थात् परम्परागत पारिवारिक संरचना, बन्दुक बोक्न पाउने अधिकारलगायत मुद्दामा समानता भेट्न सकिन्छ । तर, सेनाको भूमिका एक महत्वपूर्ण भिन्नता हो । शीर्ष अमेरिकी सैन्य अधिकारीले पूर्वसेनाको उपस्थितिका बाबजुद ६ जनवरीमा वासिंगटनमा भएको आक्रमणको निन्दा गरेका थिए ।

अमेरिकी सेना ८ जनवरीमा ब्रासिलियामा भएको आक्रमणजस्तो परिस्थिति आओस् भन्ने चाहँदैन । यति भन्दै गर्दा पनि स्पष्ट समानता देख्न सकिन्छ अर्थात् ६ जनवरी र ८ जनवरीका दिनमा आक्रमण गराउने दुवै उग्र–दक्षिणपन्थी एवं शक्तिशाली समूह हुन् । यी दुवै समूह मुलुकको राजनीतिक संस्थामा आक्रमण गर्न उद्यत् छन् । अहिले म हमलापछि पनि अमेरिका र ब्राजिलमा समानता हुनेछन् वा छैनन् भनेर घोत्लिएको छु ।  

अमेरिकामा ६ जनवरीको घटनामा संलग्न धेरैलाई दण्डित गरिएको छ । ब्राजिलमा आइतबारको घटनामा संलग्नलाई कारबाही गर्न सेना र प्रहरीजस्ता बलिया संस्थाको सामना गर्नुपर्ने भएकाले कारबाहीको सम्भावना कम देख्छु म । यस अवस्थामा ब्राजिलभित्र र बाहिरका लोकतन्त्रवादी शक्तिको ऐक्यबद्धता अपरिहार्य छ ।
(लोरिस डेनभर विश्वविद्यालयका आधुनिक लेटिन अमेरिकी इतिहासका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट