मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २४ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २४ आइतबार ११:१३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठालाई  यसरी सजाउनुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २४ आइतबार ११:१३:oo
सन्दीपा तामाङ, सञ्चालक इन्टेरियर डिजाइन नेपाल 

सबैभन्दा महत्वपूर्ण कुरा लोकेसन हो । बैठक कोठा अलग्गै पनि हुन सक्छ । किचेन र डाइनिङसँगै एट्याच पनि हुन सक्छ, जहाँ नातेदारहरूसँगै बसेर चिया खाएर तपाईंले छलफल गर्न सक्नुहुन्छ । कहिलेकाहीँ खुला स्पेसलाई पनि बैठक कोठा बनाइएको हुन्छ । कसैले सुत्ने कोठानजिकै बैठक कोठा बनाएका हुन्छन् ।

कोही मान्छे आउनुभएको छ भने तपाईंहरू बैठक कोठामा गएर बस्न सक्नुहुन्छ । यदि दुई वा तीन तलाको घर छ भने वरपर अन्य कोठाहरू बनाएर बीचको ठाउँलाई खुला र सुन्दर राखेर लिभिङ रुम तयार गर्न सकिन्छ । माथिल्ला तलाहरूमा रहेका प्यासेजलाई पनि बार्दलीजसरी लिभिङ रुमकै स्पेसका रूपमा प्रयोग गर्न सकिन्छ । प्रायः अवस्थामा बैठक कोठा ग्राउन्ड फ्लोरमै हुन्छ । कहाँ र कता राख्ने भन्ने कुरा तपाईंको घरको अवस्थाले निर्धारण गर्छ । 

हुन त बैठक कोठा चारवटा भित्ताभित्रै हुनुपर्छ भन्ने कहीँ पनि लेखिएको छैन । तर, यदि तपाईंको बैठक कोठा घरभित्र छ भने तपाईंले यसका लागि पर्याप्त स्पेस छुट्याउँदा राम्रो देखिन्छ । कम्तीमा १० बाई १० को बैठक कोठा भयो भने राम्रो हुन्छ । 

हरेक कोठालाई प्रकाश जरुरी हुन्छ । तर, तपाईंले घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्नुभयो भने राम्रो हुन्छ । नेचुरल लाइटले इनर्जी त दिने नै भयो, यसबाहेक कोठाका भित्तामा ढुसी पर्ने पनि कम हुन्छ । कृत्रिम बत्तीका हकमा अधिकांशले सेतो वा वार्म लाइट्स प्रयोग गर्छन् । कृत्रिम प्रकाशलाई आवश्यकता हेरेर थप आकर्षक र डेकोरेटेड पनि बनाउन सकिन्छ । 

भुइँमा के बिछ्याउने भन्ने कुरा पनि महत्वपूर्ण हो । स्टोन फ्लोरिङ पनि गर्न सक्नुहुन्छ । त्यस्तै, टायल, मार्बल वा पार्केटिङ पनि गर्न सकिन्छ । त्यस्तै, बैठक कोठामा आवश्यकताअनुसार विभिन्न डिजाइनका गलैँचाहरू ओछ्याउन सकिन्छ । 

घरभित्र बैठक कोठा छ भने भित्तालाई आकर्षक रूपमा रंग्याउन सकिन्छ । तीनवटा भित्तालाई एउटा कलर र अर्को एउटालाई बेग्लै कलरले रंग्याउँदा पनि आकर्षक देखिन्छ । प्लाई, वालपेपरको प्रयोगले पनि बैठक कोठा सजाउन सकिन्छ । फोटोहरू टाँसेर पनि आकर्षक देखाउन सकिन्छ । 

बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेश राख्नुभयो भने पनि राम्रो हुन्छ । भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा हुन्छ ।