मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गत बुधबार नयाँदिल्लीमा सम्पन्न बंगलादेश–भारत ऊर्जामन्त्रीस्तरीय बैठक । तस्बिर : बंगलादेशका मन्त्री नसरुल हमिदको फेसबुकबाट
२०७९ पौष २३ शनिबार ०८:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

Read Time : > 1 मिनेट
२०७९ पौष २३ शनिबार ०८:३९:००

बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात गर्न भारतको सहयोग अनिवार्य हुने हुनाले बंगलादेशले नेपाल र भुटानबाट समेत विद्युत् आयात गर्ने मामलामा भिजिबल सहयोग गर्न भारतलाई आग्रह गरेको हो । 

गत बुधबार नयाँदिल्लीमा भएको बंगलादेश–भारत ऊर्जा सहकार्यसम्बन्धी मन्त्रीस्तरीय बैठकमा बंगलादेशका ऊर्जा, खनिज तथा सम्पदामन्त्री नसरुल हमिदले यस्तो आग्रह गरेको बंगलादेशको ढाका ट्रिब्युन डटकमले लेखेको छ । यस्तै, भारतीय ऊर्जामन्त्री राजकुमार सिहंले पनि नेपालबाट विद्युत् आयात गर्न बंगलादेशलाई सहयोग गर्ने बताएको ढाका ट्रिब्युनमा उल्लेख छ । 

कोइला तथा डिजेलबाट उत्पादित विद्युत् प्रयोग गरिरहेको बंगलादेश नेपालको स्वच्छ बिजुली आयात गर्न चाहन्छ । बंगलादेशले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट विद्युत् किन्ने गरी प्रवद्र्धक कम्पनी जिएमआरलाई आशयपत्र पठाइसकेको छ । 

साथै, नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्ने उद्देश्यसहित मन्त्री तथा सचिवस्तरमै पटक–पटक छलफल तथा विभिन्न सहमतिसमेत भएका छन् । गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेशको ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिकभित्रै नेपालको ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो ।तर, त्यसका लागि भारतको सहयोग अपरिहार्य छ । किनकि, यसका लागि आवश्यक प्रसारण लाइनलगायतका पूर्वाधार भारतीय जमिनमा बनाउनुपर्ने बाध्यता छ । 

छलफल भइरहेको छ
कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

बंगलादेशमा विद्युत् बिक्री गर्ने मामलामा आवश्यक सहयोग गर्न भारतलाई प्रस्ताव गरिसकेका छौँ । हाल त्यो छलफलकै क्रममा छ, निर्णय चरणमा पुगिसकेका छैनौँ । यसमा भारत सकारात्मक भने छ । सम्भवतः आगामी वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी निर्णय हुन सक्छ ।

अहिले नेपाल–बंगलादेशको छुट्टै डेडिकेटेड अन्तरदेशीय प्रसारण लाइन नभएकाले भारतकै प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यो अवस्थामा नेपाल–बंगालदेशबीच विद्युत् व्यापार गर्न भारतको सहयोग अपरिहार्य रहेको छ । तर, यसमा भारतले खुलेर सहयोग नगरेको नेपाली सरोकारवालाहरू बताउँछन् । सोही अवस्थालाई लक्षित गर्दै बंगालादेशले भारतसँग सहयोगको आग्रह गरेको बताइएको छ ।   

 बंगलादेशले किन किन्छ नेपालको विद्युत् ? 
बंगलादेशले हाल कोइला तथा डिजेलबाट विद्युत् उत्पादन गरिरहेको छ । तर, डिजेल तथा कोइला पावर प्लान्टका कारण बंगालदेशको मात्रै नभएर छिमेकी मुलुकहरूको समेत वातावरण प्रभावित भएको छ । त्यो अवस्थामा बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्न विश्वव्यापी दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्न अन्य विकल्प छैन । त्यसकारण बंगलादेश अन्य मुलुकबाट स्वच्छ ऊर्जा आयात गर्ने योजनामा छ । सोहीअनुसार बंगलादेशले सन्् २०४० सम्म १० हजार मेगावाट विद्युत् अन्य मुलुकबाट किन्ने योजना ल्याएको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाट किन्ने हो । किनकि, बंगलादेशले खोजेको स्वच्छ ऊर्जा नेपालमा पर्याप्त हुनेछ ।

 सफल भएन ५० मेगावाट विद्युत् निर्यात गर्ने सहमति 
यसैबीच बंगलादेशले गत कात्तिकभित्र नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने गरी दुई देशबीच भएको सहमति असफल भएको देखिएको छ । गत भदौमा काठमाडौंमा भएको नेपाल–बंगलादेश चौथो ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठकमा कात्तिकभित्र नै नेपालको ५० मेगावाटसम्म विद्युत् भारतीय पूर्वाधारमार्फत बंगलादेशमा निर्यात गर्ने सहमति भएको थियो ।

यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडसँग त्रिपक्षीय सम्झौता गर्न पहल गरिने सहमति पनि भएको थियो । तर, साढे चार महिना बित्दासमेत त्रिपक्षीय सम्झौता नभएको देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस सम्बन्धमा ठोस प्रगति नभएको बताए ।