मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Tuesday, 07 January, 2025
२o७९ पौष २१ बिहीबार o९:३९:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसको दाबी– ‘मर्यादित’ प्रतिपक्षी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार o९:३९:oo

बदलिएको सत्तासमीकरणस“गै प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको कांग्रेसले सशक्त भूमिकासहित संसद्मा ‘मर्यादित’ प्रतिपक्षीमा उभिने जनाएको छ । संसद् बैठकको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर कांग्रेसले परिवर्तित सन्दर्भमा आफ्नो भूमिका सभ्य, सशक्त र ‘मर्यादित’ बनाउने बताएको हो । 

बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अराजक प्रतिपक्षको पहिचान बनाउने पक्षमा नरहेको दाबी गरे । डा. महतले संसदीय मर्यादाको पालनासहित कांग्रेस जनसरोकार र राष्ट्रिय मुद्दामा बुलन्द रूपमा प्रस्तुत हुने, तर तोडफोडको बाटोबाट आफूलाई चर्चामा नल्याउने बताए । 

‘सशक्त प्रतिपक्षको मतलब तोडफोड गर्ने, संसद्लाई महिनौँसम्म बन्धक बनाउने होइन र त्यो हाम्रो संस्कार र मान्यताभन्दा विपरीतको हो । हामीले संसदीय मर्यादाभित्र रहेर जनताका आवाज बुलन्द गर्नमा कुनै कमजोरी राख्नेछैनौँ,’ उनले भने, ‘पछिल्लो समय तोडफोड गरेपछि मात्र सशक्त हुने विकृतिको रूपमा देखिएको छ, तर हामी त्यस्तो गर्दैनौँ । अवरोध हाम्रो मर्यादाभन्दा बाहिरको विषय हो ।’

प्रवक्ता महतले संसद्मा कांग्रेसको भूमिका बढेको र यसलाई अवसरका रूपमा उपयोग गर्ने दाबी गरे । ‘संसद्मा हाम्रो उपस्थिति बढेको छ । एउटै मात्र दलले बहुमत पाएको छैन, अनेक गठजोड भएर बनेको सरकार छ । यस अवस्थामा संसद्को पहिलो ठूलो दलको हैसियतमा हाम्रो भूमिका झनै बढेर जान्छ,’ उनले भने, ‘कांग्रेसले सत्ताबाहिर हुँदाको अवसरको उपयोग गर्छ । जुन वेलासम्म कांग्रेस प्रतिपक्षमा रहन्छ त्यसवेलासम्म सशक्त विपक्षीको भूमिकामा रहनेछौँ । संसद्मा जनसरोकारका विषय, देशको सुरक्षा र राष्ट्रिय अखण्डताको विषय जनताका आवश्यकताका विषय, राष्ट्रिय स्वार्थका विषय र सुशासन, रोजगारी र विकासका विषयलाई प्रमुखताका साथ सशक्त ढंगबाट उठाउँछौँ ।

संसदीय दलको मुख्य सचेतक रमेश लेखकले पनि कांग्रेस सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिकामा राख्न खरो रूपमा प्रस्तुत हुने बताए । उनले कांग्रेसले संविधान कार्यान्वयन र समसामयिक विषयलाई प्राथमिकताका साथ संसद्मा प्रस्तुत गर्ने बताए । ‘सरकारले गर्ने हरेक कामलाई अत्यन्तै सूक्ष्म रूपमा अध्ययन गर्नेछौँ । सरकारले गरेका राम्रा कामलाई ठीक भन्नेछौँ र बेठीक कामलाई बेठीक भन्नेछौँ,’ लेखकले नयाँ पत्रिकासँग भने, ‘संविधानको सुरक्षा अहिलेको प्रमुख एजेन्डा हो । समसामयिक विषयमा प्रतिपक्षका रूपमा उठाउनुपर्ने एजेन्डा हाम्रो प्राथमिकतामा रहनेछन् ।’

संसद्को पहिलो बैठक २५ पुसमा बस्दै छ । २६ पुसमा सरकारले विश्वासको मत लिँदै छ । यस विषयमा छलफलका लागि २३ पुसमा कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

कांग्रेसले अहिलेको सत्तागठबन्धनको आयु लामो नभएको टिप्पणी गरेको छ । अवसर र पद मात्र हेरेर गठबन्धन सरकार बनेको र विभिन्न स्वार्थका दल ‘अस्वाभाविक’ रूपमा एक ठाउँमा आएकाले सरकार रुमल्लिएको कांग्रेसको दाबी छ । ‘पदको भागबन्डा गर्ने यो अस्वाभाविक गठबन्धन हो । यो गठबन्धनको आयु छोटिने प्रसस्त सम्भावना छ । सरकारमा रहेर प्रतिपक्षको रूप देखाउने विरोधाभाषपूर्ण अवस्थाको बोझका कारण नै यो सरकार लामो समय जाँदैन,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने । महतले गठबन्धन टुट्नुमा माओवादी अध्यक्ष प्रचण्ड जिम्मेवार रहेको बताए । ‘गठबन्धन जारी रहन्छ भन्ने विश्वास र सरकार बन्छ भन्ने अपेक्षा थियो । प्रचण्डले कुनै पनि हालतमा भत्किँदैन भन्ने विश्वास दिनुभएको थियो,’ उनले भने ।

संविधानको सुरक्षा अहिलेको प्रमुख एजेन्डा हो : रमेश लेखक मुख्य सचेतक, कांग्रेस

कांग्रेसका लागि बदलिएको परिस्थिति छ । संसद्मा कसरी प्रस्तुत हुनेछ ?
जनमतले हामीलाई सरकार बनाउने जिम्मेवारी दिएको हो । तर, अहिलेको बदलिएको परिस्थितिमा हामी प्रतिपक्षमा बस्ने स्थिति बनेको छ । हामी सशक्त प्रतिपक्षका रूपमा रचनात्मक भूमिकामा रहनेछौँ ।हामी आलोचना मात्रै गर्नेछैनौँ । सशक्त प्रतिपक्षका रूपमा सरकारका गलत कामको प्रतिवाद गर्नेछौँ । रचनात्मक भूमिकामा रहेर सरकारले गरेका राम्रा कामलाई राम्रो भन्न पछि पर्नेछैनौँ ।

विशेष रूपमा कांग्रेसले कस्ता विषय संसद्मा उठाउनेछ ?
सरकारले गर्ने हरेक कामलाई अत्यन्तै सूक्ष्म रूपमा अध्ययन गर्नेछौँ । सरकारले गरेका राम्रा कामलाई ठीक भन्नेछौँ र बेठीक कामलाई बेठीक भन्नेछौँ । संविधानको सुरक्षा अहिलेको प्रमुख एजेन्डा हो । संविधानको सुरक्षाका लागि कानुन निर्माण हाम्रो पहिलो प्राथमिकतामा रहनेछ । समसामयिक विषयमा प्रतिपक्षका रूपमा उठाउनुपर्ने एजेन्डा हाम्रो प्राथमिकतामा रहनेछन् ।

संसद्मा पार्टीभित्रको अन्तर्विरोध देखिने अवस्थालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पार्टीमा विभिन्न समस्या छन् । ती समस्यालाई हामी पार्टीभित्रै समाधान गर्नेछौँ । ती विवाद र समस्या संसद्मा देखिनेछैनन् ।