१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Sunday, 08 September, 2024
निकोलस क्रिस्टोफ
२o७९ पौष २१ बिहीबार o९:o१:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्व : हामीले सोचेभन्दा राम्रो भएको छ

सन् २०२२ विशेष रूपमा प्राविधिक प्रगतिका हिसाबमा उत्कृष्ट रह्यो । आगामी पाँच वर्षभित्र विश्वको सौर्य ऊर्जा क्षमता झन्डै तीन गुणा बढ्दै छ ।

Read Time : > 3 मिनेट
निकोलस क्रिस्टोफ
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार o९:o१:oo

विध्वंसका खबर र उदासीलाई केही बेर विश्राम दिनुस् । हाम्रो ग्रह तपाईंले सोचेको भन्दा राम्रो हुन सक्छ । हामी मानिस स्वभावैले खराब समाचारप्रति तानिन्छौँ (जुन उद्विकासको हिसाबमा मानव अस्तित्वका लागि सहयोगी हुने पाइएको छ), जुन हामी पत्रकारले थप राम्ररी प्रतिबिम्बित गर्छौं । जस्तो– हामी आक्कलझुक्कल दुर्घटना हुने विमानका बारेमा समाचार दिन्छौँ तर सफलतापूर्वक अवतरण भएका कति धेरै विमानबारे समाचार बनाउँदैनौँ । हामी प्रकोप, असफलता, धम्की र मृत्युलाई जोड दिएर समाचारमा पस्कन्छौँ । यस्ता निरन्तरको निराशाजनक समाचारले त्रसित बनाउन सक्छ । त्यसैले यहाँ मैले यो प्रवृत्तिविपरीत मानिसको निराशालाई केही कम गर्ने तथ्यमा प्रकाश पार्ने प्रयास गर्दै छु । 

महामारीअघिसम्म मैले हरेक वर्षको अन्तिममा सो वर्ष मानव इतिहासको सबैभन्दा राम्रो थियो भनेर तर्क गर्दै वार्षिक स्तम्भ लेख्थेँ । म यो वर्ष त्यसो गरिरहेको छैन, तर बृहत्तर रूपमा यो ग्रहमा धेरै कुरा सही भइरहेको भन्ने कुरामा भने अडिग छु । र, अझै पनि वर्तमान समय जीवित रहनका लागि सबैभन्दा राम्रो समय हुन सक्छ । सन् २०२२ विशेष रूपमा प्राविधिक प्रगतिका हिसाबमा उत्कृष्ट रह्यो । आगामी पाँच वर्षभित्र विश्वको सौर्य ऊर्जा क्षमता झन्डै तीन गुणा बढ्दै छ । यो यथार्थमा बदलिएको दिन सौर्य ऊर्जाले कोइलालाई विश्वव्यापी प्रमुख स्रोतको शीर्ष स्थानबाट विस्थापित गर्नेछ । अन्य क्षेत्रमा पनि प्राविधिक सुधार चलिरहेको छ । अमेरिकाको चर्चित एमआइटी विश्वविद्यालयका शोधकर्ताले पातलो र लचिलो सौर्य पाता उत्पादन गर्ने तरिका विकास गर्दै छन्, जुन प्रयोगमा आउन थालेपछि घरबाहिरका लगभग हरेक खुला सतहलाई शक्तिको स्रोतमा परिणत गर्न सकिनेछ । 

ब्याट्रीको विकासमा पनि उस्तै खालका सफलता देखिएका छन् । ब्याट्रीको प्रविधिले हरित ऊर्जाको भण्डारणलाई विश्वस्त बनाउँदै लगेको छ । त्यसैगरी, दशकौँदेखि ऊर्जा स्रोतको एक महत्वपूर्ण विकल्पका रूपमा विश्वास गरिँदै आइएको परमाणु फ्युजनले सन् २०२२ मा एक कोसेढुंगा हासिल गर्‍यो । ‘ग्रिन हाइड्रोजन’ले पनि गति लिँदै छ, जुन प्रविधि ढुवानी तथा ऊर्जा भण्डारणका लागि उपयोगी हुन सक्छ । यी प्रगतिले समग्रमा हामी अहिले नवीकरणीय ऊर्जाको क्रान्तिको बीचमा छौँ भन्ने देखाउँछ, जसले पृथ्वीलाई धेरै फाइदा गर्नेछ । यदि सबै कुरा ठिक गतिमा अघि बढेमा हामीले पहिलेभन्दा सस्तो, भरपर्दो र सहजै एक ठाउँबाट अर्को ठाउँ लान सकिने ऊर्जाको आनन्द उठाउन सक्नेछौँ । माध्यम सौर्य होस् वा आणविक फ्युजन, भविष्यमा उत्पादन हुने सस्तो ऊर्जा परिवर्तनकारी हुन सक्छ । उदाहरणका लागि सस्तो ऊर्जाले हाल घट्दै गएको ताजा पानीको अभाव टार्ने गरी समुद्रको पानी स्वच्छ बनाउने (डिसेलिनेसन संयन्त्र) सञ्चालन सहज हुनेछ । 

संसार भयानक छ । संसार धेरै राम्रो छ । संसार निकै राम्रो हुन सक्छ । यी तीनवटै कथन एकसाथ सत्य छन् । यही कथनअनुसार हामीले मिडियामा देख्ने खराब समाचार वास्तविक हुन् र म आफँै पनि वर्षको बाँकी ३६४ दिन त्यस्तै खराब विषयमा लेख्ने गर्छु ।
 

जलवायु परिवर्तन अस्तित्वकै चुनौती हो भन्नेमा अब कुनै आशंका छैन । तर, आफूवरपर थोरै ध्यान दिएर हेर्नुभयो भने यो विपत्बाट बच्न व्यवस्थापनको बाटो देख्ने स्थिति विकास हुँदै छ । स्वास्थ्य प्रविधिले पनि उलेखनीय प्रगति गरेको छ । वैज्ञानिकहरूले सन् २०२२ मा मलेरियाविरुद्धको खोप विकासमा महत्वपूर्ण प्रगति गरे । केहीले खोप निर्माण क्षेत्रमा सुनौलो युग सुरु भएको आशा व्यक्त गरेका छन् ।

त्यस्तै ‘इम्युनोथेरापी’ गतवर्ष क्यान्सरविरुद्ध निकै प्रभावकारी साबित देखियो । नयाँ जिन सम्पादन प्रविधिले ‘सिकल सेल एनिमिया’ निको पार्न सम्भव देखिएको छ, बिल गेट्सले उनको वार्षिक पत्रमा यही मार्गमार्फत अन्ततः एचआइभी एड्सको उपचार हुन सक्ने तर्क गरेका छन् । र, आर्टिफिसियल इन्टेलिजेन्समा भएका प्रगति त उल्लेख नै गरेका छैनौँ, जुन क्षेत्रमा यो वर्ष च्याटजिपिटीले तहल्का नै मच्चायो । अनि प्रविधिले प्रयोगशालामा मात्र फड्को मारेको होइन, हाम्रो व्यक्तिगत जीवनमै प्रभाव पार्न थालेको छ । मैले यो आलेख ओरेगनको पारिवारिक फार्ममा बसेर लेखिरहेको छु, जुन विगतमा इन्टरनेटको पहुँचमा राम्ररी जोडिएको थिएन । यसबाहेक धेरै ग्रामीण अमेरिकी क्षेत्रलाई ‘स्टारलिंक’को द्रुत इन्टरनेटले संसारसँग जोडेको छ । (यही प्रविधि रुसविरुद्धको संघर्षमा युक्रेनीहरूका लागि प्रभावकारी ठहरिएको छ ।)

यो सत्य हो कि मेरो जीवनकालको सबैभन्दा महत्वपूर्ण प्रवृत्ति मानिएको विश्वव्यापी गरिबी न्यूनीकरण कोभिड–१९को महामारी, जलवायु परिवर्तन र विश्वव्यापी खाद्य मूल्यको वृद्धिले केही मत्थर गरिदिएको छ । तर, प्रगति पूरै अवरुद्ध भने भएको छैन । ‘महामारीको असर अपेक्षा गरेजस्तो धेरै नकारात्मक रहेन । अन्य भागको तुलनामा अफ्रिकामा त यो झन् न्यून प्रलयकारी ठहरियो,’ एमआइटीकी प्रध्यापक तथा सबैभन्दा कम उमेरमा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता इस्थर डुफ्लो भन्छिन् । विश्व बैंकको तथ्यांकले चरम गरिबीमा बाँच्ने मानिसहरूको संख्या सन् २०२२ मा एकदम न्यून नै सही तर घटेको देखाएको छ । तर, अझै विषम गरिबीमा बाँच्नेको संख्या महामारीको पूर्वसन्ध्यामा भन्दा बढी छ । यो वर्ष चरम गरिबको संख्या सन् २०१८ सँग लगभग बराबर पुगेको छ, जुन सन् २०१७ र त्योभन्दा अघिल्ला वर्षमा भन्दा धेरै राम्रो हो । 

उल्लेखनीय रूपमा प्रारम्भिक अनुमानले विश्वव्यापी बाल मृत्युदर महामारीको समयमा पनि घट्दै गएको पाइएको छ । आजको दिनमा कुनै बच्चा पाँच वर्ष नपुगी मर्ने सम्भावना सन् २००० को तुलनामा लगभग आधा र सन् १९७० को तुलनामा झन्डै एक चौथाइ छ । म विश्वव्यापी मानवीय संकटलाई न्यूनीकरण गर्ने पक्षमा छैन र हामीले अझै राम्रो गर्नुपर्छ । संसारभरका बालबालिका कुपोषणपीडित छन्, जसले ती बालबालिकाको क्षमतालाई स्थायी रूपमा क्षति पु¥याउँछ ।

उमेर नपुगी विवाह हुने युवतीको संख्या अझै ठूलो छ । विस्थापित बालबालिका औपचारिक शिक्षाबाट विमुख भइरहेका छन् । तर, संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्ली अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासले स्थिति थप जटिल हुनबाट बचाएको दाबी गर्छन् । उनको संकेत कृष्ण सागरमार्फत युक्रेनी अन्न निर्यात गर्ने सहमतितर्फ थियो । यस सम्झौताले केही भागमा पूर्णस्तरको अनिकाल आउन रोकिएको बिस्लीले बताए । 

लेखको सुरुमा मैले गरेको दाबी ‘आजको दिन जीवित रहन सबैभन्दा राम्रो समय हुन सक्छ’ भनेर पढ्दा धेरैमा अविश्वास उत्पन्न भएको हुन सक्छ । तर, के हामी केटाकेटी मर्ने सम्भावना बढी भएको समयमा बाँच्न चाहन्छौँ त ? अति उपयोगी वेबसाइट ‘वल्र्ड इन डाटा’का म्याक्स रोजर भन्ने गर्छन्, ‘संसार भयानक छ । संसार धेरै राम्रो छ । संसार निकै राम्रो हुन सक्छ । यी तीनवटै कथन एकसाथ सत्य छन् ।’ यही कथनअनुसार हामीले मिडियामा देख्ने खराब समाचार वास्तविक हुन् र म आफैँ पनि वर्षको बाँकी ३६४ दिन त्यस्तै खराब विषयमा लेख्ने गर्छु । तर, हामीले (र विशेषतः पत्रकारले) प्रायः ओझेलमा पर्ने लाभतर्फ ध्यान दिनु पनि महत्वपूर्ण हुन्छ । हातमा हात मिलाएमा प्रगति सम्भव छ भनेर आफूलाई सम्झाउन पनि यो कुरा स्मरण गराइरहनुपर्छ । 

सन् १९८४ मा द न्युयोर्क टाइम्समा आबद्ध निकोलस क्रिस्टोफ सन् २००१ देखि यो पत्रिकाका स्तम्भकार छन् । उनले चीन र डार्फरको नरसंहारबारे लेखेका समाचारका लागि दुईपटक पुलित्जर पुरस्कार जितेका छन् । 
– द न्युयोर्क टाइम्सबाट