आजकल भारतको राजधानी अस्वाभाविक रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीका पोस्टरले ढाकिएको छ र उनलाई भारतलाई आधुनिकतातर्फ गति दिने प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएको छ । तर, ती पोस्टरले ठिकविपरीत कुरा पनि झल्काउँछन् । पोस्टरले व्यक्तिप्रतिको बढ्दो आसक्ति र भारत अधिनायकवादतर्फ तीव्र गतिमा गइरहेको संकेत गर्छन् ।तत्कालको राजनीतिक परिदृश्य हेर्दा व्यक्तित्वप्रति आसक्ति निश्चय नै बढिरहेको छ ।
‘मर्निङ कन्सल्ट’का अनुसार मोदी मुलुकमा सबैभन्दा लोकप्रिय नेता हुन् । उनलाई ७८ प्रतिशत अनुमोदन प्राप्त भएको छ, जुन विश्वका अरू नेताका तुलनामा अत्यधिक हो । विपक्षी छरिएर रहेका अवस्थामा आगामी वर्ष हुने लोकसभा चुनाव विजयी भई मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने सम्भावना छ । चुनावमा उत्कृष्ट प्रदर्शन गरे पनि विश्वभरका धेरै भारतीय भारतको धर्मनिरपेक्षता खिइँदै गएको र असहिष्णु बन्दै गएको भन्दै स्तब्ध भएका छन् ।
कतिपयले मोदीको हिन्दू राष्ट्रवादले भारतका धार्मिक अल्पसंख्यक विशेषतः मुसलमानको सीमान्तीकरण गरिरहेको समेत आरोप लगाएका छन् । वास्तवमा सीमान्तीकरण मात्रै नभई मुसलमानले वेलाबखतमा गौहत्याका नाममा भिडको भौतिक हिंसा पनि व्यहोरिहेका छन् । यही महिना विहारमा एक मुसलमानलाई गाईको मासु ओसारपसार गरेको आरोपमा भिडले पिटेर मारेको छ ।
मोदीले सञ्चार संस्थामा धरपकड एवं आक्रमण गरेका छन् र कैयौँ भारतीय ट्विट लेखेकै कारण जेलमा जाकिँदै छन् । स्विडेनको ‘भि–डेम इन्स्टिट्युट’को एक नयाँ प्रतिवेदनले भारतलाई लोकतान्त्रिक मुलुकको सूचीबाट हटाउँदै ‘चुनावी अधिनायकवादी’ राज्य करार गरेको छ र प्रतिवेदनले भारत लोकतान्त्रिक मुलुकको सूचीमा एक सय ७९ मुलुकमध्ये १०८औँ स्थानमा रहेको बताएको छ ।
भारतको चर्चित ग्रामीण विकास पहलकदमी बेयरफुट कलेजका संस्थापक बंकर रोय ‘जे भइरहेको छ त्यो निकै डरलाग्दो छ’ र ‘हामी अधिनायकवादतर्फ गइरहेका छौँ’ भन्दै चिन्ता व्यक्त गर्छन् । भारतमा कुनैवेला संवाददाता रिपोर्टिङ गर्न मरिहत्ते गर्थे किनभने भारतमा व्यक्त हुने विचार निकै तार्किक र शक्तिशाली हुने गर्थे । तर, अहिले मोदीबारे प्रश्न गर्दा जोकोही पनि मौन रहन्छन् । अहिले रिपोर्टर्स विदाउट बोर्डर्सले भारतलाई प्रेस स्वतन्त्रता सूचकांकमा १८० मुलुकमध्ये निराशाजनक १०५औँ स्थानमा राखेको छ ।
मोदीको असाधारण लोकप्रियता लोकरिझ्याइँमा मात्र आधारित छैन, उनले केही काम पनि गरेका छन्
द कस्मिर टाइम्सकी सम्पादक अनुराधा भासिनले ‘हामी डरको बादलमुनि काम गरिरहेका छौँ’ भन्दै यही महिना न्युयोर्क टाइम्समा एक शक्तिशाली लेख लेखेकी थिइन् । उसो त एसियाले अधिनायकवादबाट अर्थतन्त्र फस्टाउने पाठ सिकाएको छ अर्थात् उदाहरणका लागि दक्षिण कोरिया, ताइवान र चीनजस्ता मुलुक हेर्दा पुग्छ । तर, धार्मिक अतिवाद भने घातक हुन्छ । यसले केही समयको उभार ल्याए पनि समाजमा दरार उत्पन्न गर्छ र शिक्षा एवं आर्थिक व्यवस्थापनको प्राण हरण गर्छ । पाकिस्तान यो धार्मिक अतिवादको चरणबाट गुज्रिसकेको छ र यसले ठूलो सावधानीको पाठ सिकाउँछ । पाकिस्तान स्थापना हुँदा मुलुक तुलनात्मक रूपमा सहिष्णु थियो तर सन् १९७७ मा जेनरल मोहम्मद जिया उल–हकले सत्ता कब्जा गरेयता मुलुकमा पुरातनपन्थी इस्लामिक राष्ट्रवादको लहर फैलाए । परिणामतः पाकिस्तान अहिले पनि छियाछिया भएको छ ।
भारतले पनि पाकिस्तानकै नियति व्यहोर्छ कि भन्ने मेरो भय हो किनभने धार्मिक अतिवादको आगो निभाउन सजिलो छैन । तर, मेरो अन्तरात्माले भारतले पाकिस्तानी नियति व्यहोरिहाल्दैन कि भन्ने पनि लाग्छ । यस मामिलामा म कोलकाता आधारित नागरिक समाजकी अगुवा उर्मी वासु भारतले लोकतन्त्रमाथि इन्दिरा गान्धीको हमलाबाट पार पायो भने मोदीबाट पनि भारतीय लोकतन्त्र जोगिनेछ भन्ने भनाइसँग सहमत छु । भारत एक संघीय राष्ट्र हो, जहाँ राज्यसँग उल्लेख्य शक्ति छ र यसले मोदीलाई रोक्न सक्छ ।
मेरा लागि मोदीको असाधारण लोकप्रियता लोकरिझ्याइँमा मात्रै आधारित छैन, उनले केही काम पनि गरेका छन् । भारतलाई खुला दिसा–पिसाबमुक्त मुलुक बनाउनुमा उनको ठूलो भूमिका छ । स्वाभाविक रूपमा यो उपलब्धि एक नेताका लागि खासै ठूलो नदेखिएला तर यसले कैयौँको ज्यान जोगाएको छ । यसका अतिरिक्त मोदीले घातक दाउराको चुलोको साटो ग्यासको प्रयोगलाई प्रवद्र्धन गरेका छन् । यसले धेरै विपन्न महिलालाई राहत दिएको छ ।
एक आँकडाअनुसार भारतमा घरेलु वायु प्रदूषणका कारण औसतमा हरेक वर्ष ६ लाख भारतीयले ज्यान गुमाउँछन् । सडक, बन्दरगाहको तीव्र विकास मोदी सरकारको ठूलो सफलता हो । त्यसैगरी डिजिटल पहिचान र भुक्तानी प्रणालीजस्ता प्रविधि क्षेत्रमा मोदी सरकारले उल्लेखनीय काम गरेको छ । प्रविधि क्षेत्रको विकासमा मोदीकै हात छ भन्न नमिले पनि उनले यसको विस्तारमा भूमिका खेलेका छन् । ‘उनका विरोधीसमेत उनले आर्थिक एवं पूर्वाधार विकासमा उल्लेख्य काम गरेको स्विकार्छन्’ भारत अध्येता एवं जर्ज वासिंगटन विश्वविद्यालयकी डिन एलेसा आइर्स बताउँछिन् । आइर्सका अनुसार प्रधानमन्त्री भएको पहिलो वर्ष मोदी विभाजनको राजनीतिभन्दा विकासको राजनीतितर्फ बढी ढल्केका थिए । तर, हालैका वर्षमा उनी अधिनायकवादतर्फ तीव्र गतिले बढिरहेका छन् ।
मोदी अहिले ती मोदी बनेका छन्, जो उनी कुनैवेला गुजरातका लागि थिए । गुजरातमा उनी व्यापारमैत्री नेता थिए, जसले तीव्र आर्थिक वृद्धि देखेका थिए । तर, उनको यो छवि सन् २००२ मा मुसलमान नरसंहारले नराम्रोसँग बिगारेको थियो । उनले गुजरातमा मुख्यमन्त्री हुँदा नागरिक समाजलाई तहसनहस पारेका थिए ।
(क्रिस्टोफ अमेरिकी पत्रकार एवं राजनीतिक टिप्पणीकार हुन्) द न्युयोर्क टाइम्सबाट