१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
लालीबगर–दुल्लीकुन्नाखण्डस्थित सुनाखाडामा निर्माणाधीन सडक । तस्बिर : नरजन तामाङ/हुम्ला
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हुम्ला सदरमुकाम यस वर्ष पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिने

सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न लालीबगर–दुल्लीकुन्नाखण्डमा ११ किमि ट्र्याक खोल्न बाँकी, हालसम्म तीन किमि मात्रै ट्र्याक निर्माण, अर्काे वर्ष मात्रै ट्र्याक निर्माण सम्पन्न हुने सेनाको अनुमान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१५:oo

चालू आर्थिक वर्ष ०७९/८० मा हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको लक्ष्य पूरा नहुने भएको छ । सरकारले गत १० जेठमा नीति तथा कार्यक्रम जारी गर्दै चालू आवमै सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताएको थियो । तर, आयोजनाको पछिल्लो प्रतिवेदनले चालू आवमा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडकले नछुने पुष्टि गरेको छ ।

सिमकोटमा सडक पुग्न हुम्लाकै लालीबगर–दुल्लीकुन्नाखण्डको ट्र्याक खुल्नुपर्छ । ११ किलोमिटर (किमि) लम्बाइ हुने उक्त खण्डमा कडा चट्टान भएका कारण नेपाली सेनाले ब्लास्टिङ गरेर ट्र्याक निर्माण गरिरहेको छ । सडक विभागसँग विस्फोटक पदार्थहरू नहुने भएपछि ५ असोज ०७८ मा मन्त्रिपरिषद्ले उक्त सडकको ट्र्याक खुलाउन नेपाली सेनालाई जिम्मा दिएको थियो । त्यसपछि सेनाले ८ पुस ०७८ बाट निर्माण कार्य सुरु गरेको हो । तर, सरकारको लक्ष्यअनुसार चालू आवमै उक्त खण्डको ट्र्याक नखुल्ने नेपाली सेनाबाट प्राप्त एक प्रतिवेदनले देखाएको हो । प्रतिवेदनअनुसार आगामी आव ०८०/८१ मा मात्रै उक्त खण्डको ट्र्याक खुल्ने देखिएको छ । त्यसपछि मात्रै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । 

हालसम्म लालीबगर–दुल्लीकुन्नाखण्डको तीन किलोमिटर मात्रै ट्र्याक निर्माण भएको छ । चालू आवमा थप चार किमि (कुल सात किमि) ट्र्याक खुल्ने नेपाली सेनाको अनुमान छ । त्यसपछि बाँकी चार किमि ट्र्याक भने आगामी आवमा सम्पन्न हुने प्रतिवेदनले देखाएको छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले आगामी आव ०८०÷८१ मा लालीबगर–दुल्लीकुन्नाखण्डको ट्र्याक खुल्ने बताए । त्यसपछि हुम्ला सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिने उनको भनाइ छ । 

लालीबगर–दुल्लीकुन्नाखण्ड सिमकोटभन्दा ५५ किलोमिटर अगाडिको भाग हो, त्यस खण्ड (सिमकोट–लालीबगर)को ट्र्याक निर्माण सम्पन्न छ । यता कालीकोटको खुलालुदेखि हुम्लाको दुल्लीकुन्नासम्मको एक सय २३ किमि सडकको ट्र्याक पनि खुलिसकेको छ । यो खण्डमा गाडीसमेत गुड्न थालिसकेको छ । अब लालीबगर–दुल्लीकुन्नाखण्डको ट्र्याक खुलेपछि सिमकोट राष्ट्रिय सडक सञ्जालनमा जोडिनेछ । हाल निर्माणाधीन ११ किमिको लालीबगर–दुल्लीकुन्नाखण्ड खुलेपछि कालीकोटको खुलालुबाट हुम्लाको सिमिकोटसम्म एक सय ८९ किमि कच्ची सडक तयार हुनेछ । 

सिमिकोटबाटै उत्तर–पश्चिम दिशामा रहेको नेपाल–चीन सीमा क्षेत्र हिल्सासम्म ९५ किलोमिटर सडक भने निर्माणाधीन अवस्थामा छ । यी सबै सडकखण्डहरू उत्तर–दक्षिण कर्णाली करिडोरअन्तर्गत हुनेछन् । उक्त सडकखण्ड गाभ्रेल तथा कालोपत्रे गर्नका लागि आवश्यक डिजाइन गर्नेलगायतका काम भइरहेको सडक विभागका प्रवक्ता भीर्माजुन अधिकारीले बताए । आवश्यक तयारी पूरा भएपछि उक्त सडकखण्ड गाभ्रेल तथा कालोपत्रेको चरणमा जानेछ । 

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी जिल्ला सदरमुकाम अब हुम्लाको सिमिकोट मात्रै हो । सरकारले पहिलोपटक ०५१ सालमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि बढाएको थियो । त्यसपछि अधिकांश बजेट र नीति तथा कार्यक्रममा हुम्लामा सडक सञ्जाल पुर्‍याउने विषय समावेश भएका छन् । सोहीअनुसार हुम्लामा सडक पु¥याउन नेपाली सेनाले नै ९ चैत ०७१ देखि कालिकोटको खुलालुबाट सडक निर्माण गर्न सुरु गरेको थियो । सेनाले त्यसमध्ये खुलाली–दुल्लीकुन्नासम्मको एक सय २३ किमि सडकखण्डको ट्र्याक निर्माण सम्पन्न गरेर ०७७ मै सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । 

सदरमुकाममै सडक सञ्जाल पुर्‍याउने विषय भने पछिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा निरन्तर समावेश हुँदै आएको छ । तर, अझै हुम्ला सदरमुकाम सडक सञ्जाल जोडिन सकेको छैन । यद्यपि, हुम्लाको तल्लो क्षेत्र ताँजाकोट, अदानचुली, सर्केगाड गाउँपालिकामा भने मंसिर ०७७ मै सडक सञ्जाल पुगेको थियो । कर्णाली करिडोरकै खुलालु–दुल्लीकुन्नाखण्डले उक्त तीन पालिका छोएका छन् ।

अहिले हुम्ला जिल्लामा यातायातको उपयुक्त माध्यम हवाईजहाज मात्रै हो । पैदलमार्फत जिल्लाबाट बाहिरिन ५–६ दिनसम्म लाग्छ । खाद्यान्न ढुवानीको समेत उचित माध्यम नहुँदा महँगी पनि बढी छ । अन्य जिल्लाको तुलनामा हुम्लामा वस्तुको मूल्य १० गुणासम्म बढी पर्छ । त्यो अवस्था सदरमुकामलाई सडक सञ्जालमा जोड्न सकेमा स्थानीयलाई ठूलो राहत हुने हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदी बताउँछन् । ‘विभिन्न चुनौतीका बीच पनि नेपाली सेनाले द्रुत गतिमा काम गरिरहेको छ । आशा छ, छिट्टै सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिनेछ,’ उनले भने, ‘त्यसपछि यहाँका बासिन्दाले ठूलो राहत पाउनेछन् ।’ 

 पुल नहुँदा पनि कठिनाइ 
हुम्ला जिल्लाको सलिसल्लास्थित कर्णाली नदीमा अझै पक्की पुल बनेको छैन । त्यो अवस्थामा निर्माणमा प्रयोग हुने सामग्री तथा उपकरण निर्माण क्षेत्रमा पुर्‍याउन कठिन छ । त्यसले पनि निर्माण कार्यमा चुनौती भइरहेको नेपाली सेनाको भनाइ छ ।

 कडा चट्टान र प्रतिकूल मौसम चुनौती
हुम्ला भौगोलिक कठिनाइसँगै प्रतिकूल मौसमका कारण पनि निर्माणमा चुनौती भएको बताइन्छ । बर्सातमा निर्माण कार्य गर्न सकिँदैन । हिउँदमा पनि हिमपात बढी हुँदा निर्माण कार्य गर्न सकिँदैन । हिउँदमा पुसदेखि फागुनसम्म नै त्यहाँ उच्च मात्रामा हिमपात हुने गर्छ । यसरी अन्य ठाउँमा जस्तो बाह्रै महिना काम गर्न सक्ने अवस्था हुम्लामा छैन ।

वर्षमा बढीमा ५–६ महिना मात्रै काम गर्न सकिन्छ । यसरी प्रतिकूल मौसमका कारण पनि निर्माण कार्य प्रभावित भएको छ । साथै, कडा चट्टानको भिरका कारण पनि निर्माण कार्यमा चुनौती थपिएको छ । बलास्टिङ गरेर काम गर्दा समय लाग्ने गरेको छ । सरकारले चालू आवमा उक्त आयोजनालाई २० करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

ad
ad