
बामगती गाउँपालिकाका ३० जना भूमिहीन सुकुमबासीले जग्गाधनी पुर्जा पाएका छन् । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला समितिमार्फत बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भूमिहीनलाई लालपुर्जा वितरण गरिन् ।
लालपुर्जा वितरण गर्दै सामाजिक विकासमन्त्री मोक्तानले आफूहरूले जनतासँग गरेको वाचा पूरा गर्न पाउँदा खुसी लागेको बताइन् । ‘हामी गरिब र निमुखा जनताको पक्षमा काम गर्न राजनीतिमा आएका हौँ,’ उनले भनिन्, ‘आज ३० जनाले मात्र लालपुर्जा पाउनुभएको छ । हामी थप भूमिहीन सुकुमबासीले लालपुर्जा पाउने वातावरण बनाउँदै छौँ ।’
भूमिहीनको समस्या समाधानमा सरकार तत्पर रहेको उनको भनाइ थियो । बागमती गाउँपालिकाले जाँचबुझ गरेर लालपुर्जा वितरण गर्नु जनताप्रतिको स्थानीय सरकारको उत्तरदायित्व रहेकाले उक्त कार्य प्रशंसनीय रहेको पनि मन्त्री मोक्तानले बताइन् ।
बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, राष्ट्रिय भूमि आयोग मकवानपुरका संयोजक विष्णु दाहाल, प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य प्रह्लाद लामिछानेलगायतले आफूहरू मकवानपुरका भूमिहीन सुकुमबासीको समस्या समाधानमा सक्रिय रूपमा काम गरिरहेको बताए ।
उनीहरूले बागमती गाउँपालिकासँगै जिल्लाका अन्य पालिकाहरूमा पनि लालपुर्जा वितरणलाई अभियानका रूपमा लैजाने तयारीमा रहेको उनीहरूले जानकारी दिए ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाको वडा नम्बर ४ का २८ र ५ का दुई गरी ३० जना भूमिहीन सुकुमबासीले लालपुर्जा पाएको जानकारी दिए । अध्यक्ष घलानले अब चारवटा वडाका भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरणको तयारी भइरहेको बताए ।