Skip This
जिल्लालाई लागुऔषधमुक्त बनाउन मनरा सिस्वा नगरपालिकाबाट अभियान सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १७ आइतबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्लालाई लागुऔषधमुक्त बनाउन मनरा सिस्वा नगरपालिकाबाट अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार ११:१५:oo

लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको महोत्तरीलाई लागुऔषधमुक्त बनाउन अभियान थालिएको छ। मनरा सिस्वा नगरपालिकाले आफ्नो पालिकाबाट अभियानको सुरुवात गरेको हो।

युवाहरू लागुऔषधको कुलतमा फस्दै जाँदा अपराधमा वृद्धि हुनुका साथै व्यक्ति, परिवार र समाजमै नकारात्मक प्रभाव पर्ने भएकाले त्यसको प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षासहित अभियान सुरु गरिएको नगरपालिकाका मेयर मोहन पाण्डेयको भनाइ छ। आफ्नो पालिकाभित्रका युवाहरू लागुऔषधको कुलतमा फस्दै गएपछि पालिकालाई लागुऔषधमुक्त बनाउन अभियान नै चलाउनुपर्ने अवस्था आएको मेयर पाण्डेयले बताए।

मनरा सिस्वा नगरपालिकाबाट सुरु भएको अभियानको सिको गर्दै चाँडै जिल्लाका अन्य स्थानीय तहले पनि अभियानमा सहयोग गर्ने र निकट भविष्यमै जिल्ला लागुऔषधमुक्त बन्नेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे।

महोत्तरीमा लागुऔषधको मुद्दाहरू आर्थिक वर्ष ०७६/७७ मा ४२, आव ०७७/७८ मा ९१, आव ०७८/७९ मा १०० र चालू आवको हालसम्म ३६ वटा दर्ता भएको छ। जसमध्ये अधिकांश मुद्दामा युवा नै आरोपित रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ। कुलतमा फसेकाहरूलाई सचेतना, उपचार र लागुऔषधको नकारात्मकताबारे जानकारी गराई  नशामुक्त गराउन शिक्षक, आमा समूह, विद्यार्थी, नागरिक समाज, प्रशासन, संघसंस्था सबैको सहयोग आवश्यक रहेको मेयर पाण्डेयको भनाइ छ।

विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमाथि विभिन्न विधिबाट उनीहरूको व्यवहार, हाउभाउलगायतमा निगरानी गर्न अभियानमा शिक्षक, आमा समूहलगायतलाई संलग्न गराइएको छ। अभियानको प्रशिक्षण कार्यक्रममा आइपुगेका नार्कोनन नेपालका संस्थापक वसन्तराज कुँवरले महोत्तरीको एक स्थानीय तहबाट सुरु भएको अभियानले जिल्ला नै तरंगित हुने र जिल्ला नै लागुऔषधमुक्त बनाउन सहयोग मिल्ने बताए।

यता महोत्तरीका एसपी कृष्ण पंगेनीले प्रहरीले लागुऔषध रोकथामका लागि जिल्लास्तरमै विभिन्न सचेतनामूलक कार्यक्रमहरूसमेत गर्दै आएकोमा अभियानले थप टेवा पुग्ने विश्वास व्यक्त गरे।